काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोलाई २५ प्रतिशत कर छुट दिने निर्णय गरेका छन् ।
दुई दिनमा ट्रम्पले अमेरिकाका दुई ठूला व्यापारिक साझेदारहरूबाट आयातमा भन्सार लगाउने र त्यसपछि छुट दिने निर्णय गरेको यो दोस्रो पटक हो ।
यी निर्णयले व्यवसायीहरूका लागि अनिश्चितता बढाएको बीबीसीको समाचारमा उल्लेख छ । यसले गर्दा वित्तीय बजारहरू चिन्तित छन् ।
ट्रम्पले बुधबार कार निर्माताहरूलाई २५ प्रतिशत आयात शुल्कबाट अस्थायी रुपमा छुट दिने बताएका थिए ।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले ट्रम्पलाई यस कदमका लागि धन्यवाद दिए भने क्यानडाका अर्थमन्त्रीले देशले अमेरिकी उत्पादनहरूमा दोस्रो चरणको प्रतिशोधी कर लगाउने निर्णयलाई हाललाई ढिलाइ गर्ने बताए ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग करका बारेमा रोचक फोन वार्ता भएको बताएका छन् ।
ट्रुडोले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘केही राहत भए पनि व्यापारलाई लिएर दुई सहयोगीबीच भविष्यमा टकरावको सम्भावना कायमै छ ।’
मेक्सिकन राष्ट्रपति शेनबाउमसँगको फोन वार्तापछि ट्रम्पले अप्रिल २ सम्म छुट विस्तार गर्न सहमत भएको बताएका छन् । यो उपाय कार निर्माता र पार्टपुर्जा आपूर्तिकर्ताहरूलाई सहयोग गर्ने उद्देश्यले गरिएको उनको भनाइ छ ।
ह्वाइट हाउसका एक अधिकारीले मेक्सिकोबाट हुने लगभग ५० प्रतिशत अमेरिकी आयात र क्यानडाबाट हुने ६२ प्रतिशत आयातमा अझै पनि भन्सार शुल्क कायम रहन सक्ने बताएका छन् ।
Facebook Comment
Comment