विद्युत् अभाव हुँदा हुम्ला जिल्ला अस्पतालको सेवा प्रभावित, बिरामी मर्कामा

नेपालभ्युज

विद्युत् अभाव हुँदा हुम्ला जिल्ला अस्पतालको सेवा प्रभावित, बिरामी मर्कामा
फाइल तस्वीर

सिमकोट । विद्युत् आपूर्ति नियमित नहुँदा हुम्ला जिल्ला अस्पतालको स्वास्थ्य सेवा प्रभावित बनेको छ । हिउँदयाममा दैनिक विद्युत् भारको कटौतीले जिल्ला अस्पतालको सेवा प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख डा. प्रतीक्षा भारतीले जानकारी दिइन् ।

अस्पतालमा एक्स–रे, प्रयोगशाला र दमका सेवाहरु सञ्चालनमा कठिनाइ भएको उनले बताइन् । ‘दैनिक दर्जनौँ बिरामी मर्कामा पर्ने गरेका छन् । अस्पतालमै विद्युत् अनियमित भएपछि बिरामीहरुलाई दिनभर कुराउनाका साथै टाढाबाट आएकाहरू बढी समस्यामा परेका छन्,’ उनले भनिन् ।

तीन, चार दिनयता घाम नलागेर बाक्लो बादल लागेका कारण अस्पतालको सौर्य उर्जाले काम नगरेको र हेल्दुम वितरण केन्द्रले ‘लोडसेडिङ’ १४ घण्टासम्म गर्नुले थप समस्या भएको हो । अस्पतालका शय्यामा भर्ना भएका ६ जना दमका बिरामीलाई अक्सिजन दिन समस्या भएको छ । दमका
अधिकाङ्श बिरामीलाई फर्काउनुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ ।

विद्युत् कार्यालयले भने खोलामा पानी कम भएका कारण सदरमुकाम सिमकोटसहित आसपासमा विद्युत् भारको कटौती जनाएको छ । विद्युत् कार्यालय प्रमुख जितेन्द्र शाहले अस्पतालमा नियमित विद्युत् उपलब्ध गराएको दाबी गरे । ‘अस्पतालको आन्तरिक समस्याले विद्युत् लाइन उपलब्ध नभएको हुनसक्छ, हामीले अस्पताललाई विद्युत कटौती गरेका छैनौँ,’ उनले भने ।

अस्पताल मात्रै नभएर अन्य कार्यालय, स्थानीय उद्योग र स्थानीयसमेत विद्युत कटौतीको मारमा परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved