टिप्पणी

युक्रेन मामिलामा ट्रम्पसँग युरोपको विद्रोह, नाटोमा अमेरिका एक्लिने सम्भावना

अमेरिका र युरोपबीच यो स्तरको ध्रुवीकरण दोस्रो विश्व युद्धयता कुनै पनि सवालमा भएको थिएन । ट्रम्पको अभिव्यक्तिलाई युरोपेली नेताले अपमानको रुपमा लिएका छन् । साथै, युरोपको शक्ति पुनर्स्थापित गर्ने आँट देखाउन थालेका छन् ।

नेपालभ्युज

युक्रेन मामिलामा ट्रम्पसँग युरोपको विद्रोह, नाटोमा अमेरिका एक्लिने सम्भावना

काठमाडौं शुक्रबार ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको अपमान र धम्की सामना गरेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिबार सीधै बेलायत पुगे । लन्डनमा उनको भव्य र न्यानो स्वागत भयो ।

बेलायती प्रधानमन्त्री कियर स्टार्मरलाई समेत वासिङ्गटनमा ट्रम्पले अनौठो प्रश्न सोधेका थिए – के अमेरिकाबिना रुससँग एक्लै लड्न सक्छौ ?

स्टार्मरले यो प्रश्नको कुनै उत्तर नदिइकन हाँसेर टारेका थिए । तर, सायद उनको मनमा भने ट्रम्पको खिसी नमीठो गरी गढेको थियो । बदलामा स्टार्मरले लन्डनमा जेलेन्स्कीसँग गला मिलाए । सडकबाट जेलेन्स्की र युक्रेनको पक्षमा नाराबाजी भयो । जेलेन्स्की स्टार्मरलाई बारम्बार ‘धन्यवाद’ भनिरहेका थिए ।

लगत्तै लन्डनमा युरोपेली नेताहरूको आकस्मिक बैठक बोलाइयो । यो बैठकमा अधिकांश युरोपेली मुलुकका नेता सहभागी भए । क्यानडाका राष्ट्रपति जस्टिन ट्रुडो पनि बैठकका लागि लन्डन पुगेका थिए । अहिलेसम्म दुई वटा युरोपेली देश मात्र अमेरिका र ट्रम्पको समर्थनमा देखिएका छन्, स्लोभाकिया र हङ्गेरी

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोहङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्वानले अमेरिकाको इच्छाविपरित युरोपले रुससँगको लडाइँ जित्न नसक्ने धारणा व्यक्त गरेका छन् । यी दुई नेताको राजनीतिक दृष्टिकोण फरक छ । फिको पूर्वकम्युनिष्ट हुन् । सन् १९८९ मा कम्युनिष्ट शासनको अन्त्य र चेकोस्लोभाकियाको विघटनपछि उनले डेमोक्रेटिक–लेफ्ट पार्टी पुनर्गठन गरेका थिए । तर, पछिल्ला दिनमा उनका धारणा निरन्तर दक्षिणपन्थी हुँदै गएका छन् ।

भिक्टर अर्वान भने साम्यवादोत्तर युगका घोषित दक्षिणपन्थी हुन् । उनको तर्क छ, “ट्रम्पसँग शान्ति स्थापना गर्ने शक्ति छ । जेलेन्स्कीसँग युद्ध जारी राख्ने कमजोरी । बलियोले शान्ति ल्याउँछ, कमजोरले युद्ध गर्छ ।”

उता इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी दक्षिणपन्थी नै हुन् । तर, युक्रेन मामिलामा उनी बेलायतको बैठकमा सहभागी भएकी छन् । जर्मनीका सम्भावित नयाँ चान्सलर फ्रेडरिक मर्जले भने युरोपको एकता र शक्तिको आव्हान गरिसकेका छन् ।

शुक्रबार ह्वाइट हाउसको वार्तापछि अधिकांश युरोपेली देश ट्रम्पको शैली र धारणाको विरुद्ध मुखरित भएका छन् । फ्रान्सेली राष्ट्रपति इम्मानुअल म्याक्रोँ, स्पेनका प्रधानमन्त्री पेन्द्रो साँचेज, नर्वेका जोहनस स्टोरे, पोल्याण्डक डोनाल्ड टस्क, नेदरल्याण्ड्सका डिक स्कोफ, स्विस सङ्घकी राष्ट्रपति करिन केरल–सुटर, मन्टेनेग्रोका ज्याकोभ मिलाटोभिक, इस्टोनिका प्रधानमन्त्री क्रिस्टेन मिचेल, क्रोएसियाका आन्द्रेज पेन्कोभिक, फिनल्याण्डका प्रधानमन्त्री पेटरी ओर्पो, युरोपेली सङ्घका पदाधिकारी लगायतका नेताहरूले युक्रेनलाई समर्थन दिने घोषणा गरेका छन् ।

अमेरिका र युरोपबीच यो स्तरको ध्रुवीकरण दोस्रो विश्व युद्धयता कुनै पनि सवालमा भएको थिएन । यस्तो लाग्छ युरोप अमेरिकासँग अनौठो गरी इखिएको छ ।

ग्रीनल्याण्डमाथि ट्रम्पको दाबीसँगै डेनमार्क अमेरिकासँग असन्तुष्ट रहँदै आएको थियो । यो घटनालाई युरोपेली सार्वभौमसत्तामाथि अमेरिकी हस्तक्षेपको प्रयत्नका रुपमा हेरिएको थियो । युरोपेली सङ्घले यसको चर्को स्वरमा विरोध गरेको थियो ।

अमेरिकालाई ‘पश्चिमा देश’ को नेता भनिदै थियो । तर, ट्रम्पले रुसी स्वार्थको पैरवी थालेपछि युरोपेली नेताहरू अमेरिकासँग बिच्किएका छन् । अमेरिकाको सहयोगबिना युक्रेन र युरोप एक्लै रुससँग लड्न र टिक्न नसक्ने भन्दै ट्रम्पले युरोपको आत्मविश्वासलाई कमजोर पार्न खोजेका थिए ।

ट्रम्पको यस्तो अभिव्यक्तिलाई युरोपेली नेताले अपमानको रुपमा लिएका छन् । साथै, युरोपको शक्तिलाई पुनर्स्थापित गर्ने आँट देखाउन थालेका छन् ।

अघिल्लो हप्ता ट्रम्पले किभको जानकारी र सहमतिबिनै रुससँग युक्रेन युद्धबारे साउदी अरबमा वार्ता सुरु गराएका थिए । यसका लागि ट्रम्पका विदेशमन्त्री मार्को रुबियो रियाद पुगेका थिए । साथै, ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ‘मध्यमस्तरको कमेडियन र तानाशाह’ मात्रै भनेनन् अब ‘जेलेस्न्कीको पतन’ हुनुपर्ने धारणा समेत राख्न भ्याएका थिए ।

तर, ट्रम्प यो भनाइमा अडिग भने रहेनन् । लगत्तै युक्रेनले अमेरिकालाई ५०० विलियन डलरको दुर्लभ खनिज पदार्थ वा खनिज उत्खननमा ५०-५० को साझेदारी दिए थप सहयोग गर्न सकिने बताएर सौदाबाजीमा लागे ।

ट्रम्पको भनाइ र कार्यशैलीबाट यस्तो लाग्थ्यो कि उनलाई अमेरिकाको धम्की र चेतावनीपछि युरोप डराउनेछ भन्ने विश्वास थियो तर, उल्टो भएको छ । डराउनुको साटो युरोप अमेरिकासँग बिच्किएको छ । युरोपले ट्रम्प-पुटिन स्वार्थप्रेरित अमेरिका–रुस मिलोमतोलाई साथ नदिने प्रष्ट सङ्केत देखिएको छ ।

ट्रम्पको कार्यशैली र धारणालाई युरोपेली नेताहरूले ‘गैरजिम्मेवार र दादागिरीपूर्ण’ मानेका छन् ।

ट्रम्पले युरोपलाई रुससँग टिक्न नसक्ने कमजोर शक्तिका रुपमा आकलन गर्नु सायद उचित थिएन । युरोप त्यति कमजोर जस्तो लाग्दैन जति ट्रम्पको आकलन छ । नाटोका ३२ सदस्य राष्ट्रमध्ये ३० युरोपेली देश हुन् । अमेरिका र क्यानडा मात्र उत्तर अमेरिकी महादेशका हुन् । अहिले क्यानडा पनि युक्रेनको पक्षमा उभिएको छ । 

यसको अर्थ हुन्छ– नयाँ ध्रुवीकरणपछि नाटोमा अमेरिका आफैँ एक्लो हुन सक्दछ । अमेरिकाबिनाको नाटोको परिकल्पना हुन सक्ने सम्भावना समेत देखिएको छ । 

युरोपेली देशको जीडीपी रुसकोभन्दा १० गुणा ठूलो छ । यहाँसम्मकी विश्वको आर्थिक महाशक्ति बन्दै गएको चीनको भन्दा ५ गुणा ठूलो छ । एउटै इकाई मान्ने हो भने अमेरिकापछि दोस्रो ठूलो अर्थतन्त्र युरोपको हुन्छ । युरोपेली नाटो सदस्य देशको जीडीपीको ०.२ प्रतिशतले मात्र युक्रेनको युद्ध खर्च धानिन सक्दछ, जो ती देशका लागि सामान्य हो ।

पश्चिमा खेमाका मानिने अष्ट्रेलिया र न्युजिल्याण्ड पनि ट्रम्पको धारणाविरुद्ध र युक्रेनको पक्षमा मुखरित भएका छन् ।

सैन्य मामिलाका जानकार भन्छन् –युक्रेनले प्रयोग गरिरहेका युद्ध सामग्री र हतियार युरोपबाट पनि प्राप्त हुन सक्छन् । प्याट्रियाटिक मिसाइललगायत केही मात्र विशेष प्रकृतिका हतियार हुन् जसको प्रतिस्थापन हुन सक्दैन ।

आइतबार लन्डनमा भएको युरोपेली नेताहरूको बैठक एक प्रकारले अमेरिकाविरुद्ध विद्रोहको सुरुवात हो । यो बैठकमा नाटोका जिम्मेबार अधिकारीहरूले समेत भाग लिएका छन् । तर, धेरै विषय अहिले नै अनुमान गर्न सकिनेगरी विकसित भइसकेका छैनन् । अमेरिका युरोपको सम्बन्ध अब कसरी अघि बढ्छ, पर्खिएरै हेर्न पर्ने हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved