काठमाडौं । बलिउड अभिनेता गोविन्दा र पत्नी सुनिता आहुजाको वैवाहिक जीवनमा दरार आएको खबरले फ्यानहरू दुःखी छन् ।
३७ वर्षको वैवाहिक जीवन बिताइसकेको यो जोडीले सम्बन्धविच्छेद गर्न लागेको हल्ला अहिले चर्को रुपले फैलिरहेको छ । गोविन्द र सुनिता कहिल्यै अलग हुन नसक्ने अभिनेताका परिवारका केही सदस्यले मिडियामा बताएका छन् ।
यसबीच गोविन्दका वकिल तथा पारिवारिक साथी ललित बिन्दलको बयान बाहिर आएको छ ।
इन्डिया टुडेसँगको कुराकानीमा ललितले सुनिताले केही गलतफहमीका कारण ६ महिनाअघि सम्बन्धविच्छेदको लागि निवेदन दिएको खुलासा गरेका छन् । तर, अब यो जोडीले आफूबीचको मतभेद सल्टाइसकेको बताइएको छ । दुवैजना एक अर्काको साथमा खुसी रहेको उनी बताउँछन् ।
नयाँ वर्षमा अभिनेता र पत्नी नेपाल घुम्न गएको र अहिले उनीहरूबीच सबै कुरा ठीक रहेको ललितको दाबी छ । सम्बन्धमा यस्ता कुरा भइरहने, तर गोविन्दा र सुनिताको सम्बन्ध बलियो रहेको र तिनीहरू सधैँ सँगै हुने उनले बताए ।
गोविन्द र सुनिता छुट्टाछुट्टै अपार्टमेन्टमा बस्ने खबरको पनि ललितले खण्डन गरेका छन् । सांसद बनेपछि गोविन्दाले आधिकारिक कामका लागि नयाँ बङ्गला किनेको र यो बङ्गला अभिनेताको फ्ल्याटको ठीक सामुन्ने भएको उनले बताए ।
गोविन्दाले धेरैपटक मिटिङ गर्नुपर्ने भएकोले कहिलेकाहीँ उनी नयाँ बङ्गलामा नै सुत्ने तर यो जोडी सधैँ सँगै रहँदै आएको उनको भनाइ थियो ।
कसरी बिग्रियो कुरा ?
पोडकास्ट र सार्वजनिक उपस्थितिमा सुनिताको अपूर्ण बयानका कारण कुरा अगाडि बढेको ललितले बताए । मानिसहरूले आफ्नो सुविधाअनुसार यो कुरालाई उठाएको अनि अभिनेताको दम्पतीविरुद्ध प्रयोग गरेको ललित बताउँछन् ।
“मलाई गोविन्दा जस्तो श्रीमान चाहिँदैन । मलाई गोविन्दा जस्तो छोरा चाहिन्छ,” एक पटक सुनिताले भनेकी थिइन् । गोविन्दा आफ्नो भ्यालेन्टाइनसँग छ भनेर सुनिताले भनेकी थिइन् । सुनिताले यो भन्दा गोविन्दा आफ्नो काममा व्यस्त छन् भन्ने खोजेको तर मानिसहरूले उनको कुरालाई बङ्ग्याएर प्रसार गरेको पनि ललितले बताए ।
तर, यो जोडी सधैँ साथै रहने र यिनीहरूबिच कुनै सम्बन्धविच्छेद नहुनेमा आफू आश्वस्त रहेको उनले भनेका छन् ।
गोविन्दा र सुनिताले १९८७ मा बिहे गरेका थिए । दम्पतीका एक छोरा र एक छोरी छन् ।
Facebook Comment
Comment