काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन् ।
उक्त कार्ड ५० लाख डलर (६९ करोड रुपैयाँ) मा किन्न सकिन्छ । ट्रम्पले यसलाई अमेरिकी नागरिकताको बाटोको रूपमा वर्णन गरेका छन् ।
अमेरिकी राष्ट्रपतिले ‘ट्रम्प गोल्ड कार्ड’ लाई ईबी-५ भिसा कार्यक्रमको विकल्पको रूपमा वर्णन गर्दै भविष्यमा १० लाख गोल्ड कार्डहरू बेचिने बताए ।
“हामी गोल्ड कार्ड बेच्दैछौँ,” आफ्नो कार्यालयबाट सम्बोधन गर्दै उनले भने, “तपाईंहरूसँग ग्रीन कार्ड छ । यो गोल्ड कार्ड हो । यसको मूल्य करिब ५ मिलियन डलर हुनेछ, जसले ग्रीन कार्डका सम्पूर्ण सुविधा दिनेछ र नागरिकता प्राप्त गर्ने बाटो खुला गर्नेछ । धनाढ्यहरू यो कार्ड किन्न आउनेछन् ।”
उनले भने, “यो भिसा कार्डले अमेरिकी नागरिकताको बाटो खोल्नेछ । कार्ड किनेर मानिसहरू अमेरिका आउनेछन् र यहाँ धेरै कर तिर्नेछन् । यो पहलले राष्ट्रिय ऋण चाँडै चुक्ता गर्न सकिनेछ ।”
हाल अमेरिकामा नागरिकता प्राप्त गर्न ईबी-५ भिसा कार्यक्रम छ । यो सन् १९९० देखि लागू छ । यस भिसा कार्यक्रमको उद्देश्य विदेशी लगानी आकर्षित गर्नु हो । यसमा मानिसहरूले कम्तीमा १० रोजगारी सिर्जना गर्ने व्यवसायमा १० लाख डलर लगानी गर्नुपर्छ ।
Facebook Comment
Comment