ताप्लेजुङमा सर्वसाधारणका घरमा राँको फालेको घटनाबारे योगेश भट्टराई : विरोधको सीमा हुन्छ

नेपालभ्युज

ताप्लेजुङमा सर्वसाधारणका घरमा राँको फालेको घटनाबारे योगेश भट्टराई : विरोधको सीमा हुन्छ

काठमाडौं । ताप्लेजुङ बजारमा राँकेजुलुसको आगो व्यक्तिको घरमा फालिएको भन्दै सांसद योगेशकुमार भट्टराईले संसद्‌मा ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै भट्टराईले केबलकार विरोधी समूहले गरेको आन्दोलनको क्रममा शनिबार राति घरमा आगो फालिएकोप्रति विरोध जनाउँदै शान्तिपूर्ण हिसाबले अघि बढाउन माग गरेका हुन् ।

“हिजो राति केबलकार विरोधी समूहबाट भएको मसाल जुलुसको क्रममा ताप्लेजुङ बजार अशान्त भयो । सर्वसाधारणको घरमा मसाल जुलुसको आगो फाल्ने काम भयो,” भट्टराईले भने, “सुरक्षाकर्मीमाथि साङ्घातिक हमला गर्ने काम भयो । थुप्रै सुरक्षाकर्मी घाइते हुने स्थिति सृजना भएको छ ।”

भट्टराईले नेपालको ऐन कानुनको व्यवस्थाबमोजिम कुनै निजी क्षेत्रलाई केबलकार निर्माणको निम्ति अनुमति दिएको बताएका छन् । त्यसमाथि असन्तुष्ट भए सीमाभित्र रहेर सभ्य संयमित र शान्तिपूर्ण ढङ्गले विरोधलाई अगाडी बढाउनुपर्ने बताए ।

ताप्लेजुङ बजार पटक-पटक आगलागीको चपेटामा परेको बताउँदै भट्टराईले त्यस्तो स्थिति आउन नदिन सम्पूर्ण पक्षले ध्यान दिनुपर्ने बताए । आन्दोलनमा धर्म र संस्कृतिको विषयमा घुसाएर राजनीति गर्न खोजेको भट्टराईले इङ्कित गरे ।

“धर्म संस्कृतिलाई जब राजनीतिमा प्रवेश गराउन थाल्छ त्यसले भयङ्कर विवादको स्वरूप लिन्छ । नेपाल बहुजातीय बहुभाषिक बहुसास्कृतिक मुलुक हो । मिलेर बसेको स्थितिमा यो किसिमको स्थिति सृजना हुनु भएको गम्भीर विषय हो,” भट्टराईले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved