इटहरी । १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ ।
शनिबार इटहरी रङ्गशालामा भएको फाइनलमा लगातार दुई संस्करणको विजेता सगरमाथा यूथ क्लब मोरङलाई २-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले पहिलो सहभागितामै उपाधि चुमेको हो ।
मच्छिन्द्रका लागि विदेशी खेलाडी मलिक युसुफले चौथो मिनेटमै अग्रता दिलाएका थिए । ८५ औँ मिनेटमा ओमुलाजा नुरैन हरिमले गोल थपेर मच्छिन्द्रको जित सुनिश्चित गरे ।
प्रतियोगिताभर युसुफले सर्वाधिक ४ गोल गर्दै रु. २५ हजारसहित सर्वाधिक गोलकर्ताको पुरस्कार समेत हात पारेका छन् ।
विजेता मच्छिन्द्रले नगद रु. १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता सगरमाथाले रु. ५ लाख हात पारेको छ ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ सगरमाथाका कुलदीप कार्की सर्वोत्कृष्ट खेलाडी भए । उनले १ लाख र ट्रफी पाए ।
मच्छिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक, शनिस श्रेष्ठ उत्कृष्ट डिफेन्डर, विशाल घलान उत्कृष्ट मिडफिल्डर र मलिक युसुफ उत्कृष्ट फरवार्ड घोषित भए । यस्तै मच्छिन्द्रका सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक चुनिए । सबै व्यक्तिगत विधाका विजेताले जनही रु. २० हजार र ट्रफी प्राप्त गरेका छन् ।
फागुन ३ गतेदेखि सुरु भएको प्रतियोगितामा एक भारतीयसहित ८ टिमको सहभागिता थियो ।
Facebook Comment
Comment