प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै बालेनले भने : अमेरिकाले ‘भ्रष्टाचारी’ भनिसक्यो

नेपालभ्युज

प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै बालेनले भने : अमेरिकाले ‘भ्रष्टाचारी’ भनिसक्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘भ्रष्टाचारी’ भनेको सम्झाएका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गर्दै आफूलाई मेयर भएको बिर्सिदिन र नेपाली भएर बाँच्ने अधिकार दिन आग्रह गरेका हुन् ।

‘प्यारा प्रधानमन्त्रीज्यू, अमेरिकाले करप्ट भनिसक्यो, भारतले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन । मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस,’ उनले फेसबूकमा लेखेका छन् ।

हालैको एक भाषणमा अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको सङ्घीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी गराएका हुन् ।

उनले यसलाई ठगीको संज्ञा दिँदै रोकेका हुन् । मेयर शाहले यसैबारे प्रधानमन्त्रीमाथि कटाक्ष गरेका हुन् ।

यस्तै भारतको ओडिसा राज्यको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सङ्केत गर्दै उनले ‘भारतले भिकारी भनिसक्यो’ भनेको बुझ्न सकिन्छ ।

यसअघि मेयर शाहले डाइभरसिटी भिसा (डीभी) रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनुरोध गरेका थिए ।

उनले बिहीबार राति सामाजिक सञ्जालमार्फत ट्रम्पसँग डीभी चिट्ठा रोकेर संसारलाई अघि बढ्न दिन आग्रह गरेका हुन् ।

‘कृपया आफ्नो लोभ (डीभी) दासत्व पनि रोक्नुहोस् । हामी हाम्रा रत्नहरू फिर्ता ल्याउनेछौं,’ उनले फेसबूकमा लेखेका छन्, ‘बाँकी संसारलाई तपाईंको देशमा आउन प्रतिबन्ध लगाउनुहोस् र संसारलाई अघी बढ्न दिनुहोस् ।’

ट्रम्पलाई बालेनको अनुरोध : डीभी रोक्नुहोस्, संसारलाई अघि बढ्न दिनुहोस्

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved