काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ओमानको मस्कटमा आयोजित आठौं हिन्द महासागर सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएकी छन् ।
भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर र ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा उनी फागुन २ गते ओमन प्रस्थान गरेकी थिइन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे पत्रकारहरुलाई जानकारी गराउँदै मन्त्री डा. देउवाले सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको उक्त सम्मेलनमा आफूले नेपालका तर्फबाट सहभागी भई सम्बोधन गरेको बताइन् ।
सो सम्मेलनमा हिन्द महासागरीय क्षेत्रका ४० देशका विदेश मन्त्रीस्तरीय सहभागिता रहेको थियो । सो सम्मेलनमा उनले ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्ने सम्बन्धी सत्रलाई सम्बोधन गरेकी थिइन् ।
यस भ्रमणका क्रममा मन्त्री डा. देउवाले भारतीय विदेशमन्त्री डा. जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरिन् । त्यसैगरी उनले ओमानका विदेशमन्त्री, ऊर्जा र खनिज मन्त्री, सम्पदा तथा पर्यटनमन्त्रीका साथै इरान, संयुक्त अरब इमिरेट्स र श्रीलङ्काका विदेशमन्त्री एवं जापानका विदेश राज्यमन्त्रीसँग साइडलाइन भेट गरेकि थिइन् ।
इरानका विदेशमन्त्रीसँगको भेटवार्ताका क्रममा मन्त्री डा. देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् ।
यसैबीच मन्त्री डा. देउवाले ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रुपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको जानकारी दिइन् ।
यस विषयमा हिजामात्र पनि आफूले ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गरेर नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरुलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको जानकारी दिइन् ।
Facebook Comment
Comment