मह जोडीको स्पष्टोक्ति :

‘यूएसएडको सहयोगमा टेली श्रृङ्खला बनाएको सत्य हो, सनातन धर्मको विरोध गरेका छैनौँ’ (भिडिओ)

नेपालभ्युज

‘यूएसएडको सहयोगमा टेली श्रृङ्खला बनाएको सत्य हो, सनातन धर्मको विरोध गरेका छैनौँ’ (भिडिओ)

काठमाडौं । मह जोडीका नामले परिचित कलाकारद्वय मदनकृष्ठ श्रेष्ठ र हरिवंश आचार्यले आफूहरूलाई ‘सनातन धर्मविरोधी’ भनेर प्रचार गरिएको भन्दै गुनासो गरेका छन् ।

उनीहरूले बिहीबार भिडिओ जारी गर्दै यूएसएडको विषयलाई लिएर स्पष्टीकरण दिएका हुन् ।

यद्यपि यूएसएडको सहयोगमा आफूहरूले ‘मदनबहादुर–हरिबहादुर’, ‘आमा’, ‘असल लोग्ने’लगायत केही जनचेतनामूलक टेली श्रृङ्खला निर्माण गरेको भने उनीहरूले स्वीकार गरेका छन् । तर त्यसमा सनातन हिन्दुलगायत कुनै पनि धर्मलाई नहोच्याएको उनीहरूको भनाइ छ ।

‘यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर अनर्गल प्रचार गरिएको छ । यसले अत्यन्त दुःखी गराएको छ । संसारमा राम्रो पनि छन्, नराम्रो पनि । हामीले राम्रोमात्रै छानेर काम गर्दै आएका छौँ,’ श्रेष्ठले भने, ‘रोगका विषयमा हामीले जनचेतना फैलाउने काम गरेका छौँ ।”

आचार्यले पनि आफूहरू दुवैजना अहिले चलचित्रमा काम गरिरहेका बेलामा अनर्गल प्रचार गरेर दुःख दिइएको भन्दै गुनासो पोखेका छन् ।

आफूहरूले गरेका सबै काम युट्युबमा पनि राखिएको बताउँदै उनले त्यहाँ सनातन धर्मविरोधी विषय नसमेटिएको दाबी गरे । ‘हामीले सनातन धर्मको विरोध गरेका छैनौँ । अनर्गल प्रचार मात्र हो,’ उनले भनेका छन् ।

यतिबेला सामाजिक सञ्जालमा पुरोहितलाई व्यङ्ग्य गरिएको भिडिओ बाहिरिएको छ । यसबारे पनि आचार्यले प्रष्ट पार्ने कोसिस गरेका छन् ।

‘२०५२ सालमा पञ्चायत व्यवस्थाको सराद्धे बनाएका थियौँ । त्यहाँ पण्डितलाई व्यङ्ग्य गरिएको छ । पण्डित भन्दैमा भगवान् हुँदैनन् भन्ने देखाइएको छ । यो हामी सबै पेशाका मानिसलाई हामी व्यङ्ग्य गर्छौँ । पण्डितलाई पनि गरिएको हो । कपोकल्पित कुरा गरेर भ्रममा पार्ने काम बन्द गरौँ,’ उनको भनाइ छ ।

मह जोडीले यूएसएडको पैसा लिएर हिन्दु धर्मविरोधी टेली श्रृङ्खला बनाएको भन्दै यतिबेला कतिपयले सामाजिक सञ्जालमा विरोध जनाइरहेका छन् । उनीहरूले यसैको स्पष्टीकरण दिनु परेको हो ।

हेरौँ भिडिओ :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved