काठमाडौं । भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीलाई शान्तिपूर्ण हिसाबले शैक्षिक गतिविधिमा फर्किन आग्रह गरेको छ ।
नेपाली विद्यार्थी प्रकृति लम्मसालको शंकास्पद मृत्युको घटनापछि न्यायको माग गरिरहेका विद्यार्थीलाई कलेज र होस्टेलबाट निकालेर रेल स्टेशनमा छाडेको विश्वविद्यालय प्रशासनले सोमबार एकपछि अर्को विज्ञप्ति सार्वजनिक गरेर यस्तो आग्रह गरेको हो । सबै विद्यार्थीहरूलाई शान्त रहन र आफ्नो शैक्षिक गतिविधिमा ध्यान केन्द्रित गर्न अनुरोध गर्दै विश्वविद्यालयका रजिष्ट्रारले सूचना जारी गरेका छन् ।
सोमबार प्रशासनले निकालेको तेस्रो विज्ञप्तिमा भनिएको छ, ‘हिजो साँझ क्याम्पसमा एउटा दुर्भाग्यपूर्ण घटना भयो । घटना लगत्तै प्रहरीले यस विषयमा अनुसन्धान गरी दोषीलाई पक्राउ गरेको छ । केआईआईटी प्रशासनले शैक्षिक गतिविधिहरू पुनः सुरु गर्न क्याम्पस र छात्रावासहरूमा सामान्य अवस्था पुनर्स्थापित गर्न सबै प्रयास गरेको छ ।’
सूचनामा अगाडी उल्लेख छ, ‘क्याम्पस छोडेका वा छोड्ने योजनामा रहेका हाम्रा सबै नेपाली विद्यार्थीहरूलाई फर्केर कक्षा पुनः सुरु गर्न अपील गरिन्छ ।’
त्यसको केही समय अगाडी पनि प्रशासनले विज्ञप्ति निकालेको थियो । जसमा नेपाली विद्यार्थीका लागि त्यसअघि जारी गरिएको पहिलेको सूचनाको सट्टा होस्टलमा बस्न चाहेमा फर्किन सक्ने भनिएको थियो ।
‘छात्रावासमा बस्न चाहने नेपाली विद्यार्थीहरूलाई फर्किन अनुमति दिइएको छ । विश्वविद्यालय विद्यार्थीहरूलाई क्याम्पसमा फर्किएर छात्रावासमा बस्न प्रोत्साहित गरिरहेका छन्,’ सूचनामा भनिएको थियो ।
साथै, घटनाको निष्पक्ष र न्यायपूर्ण अनुसन्धान गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको जानकारी उक्त विज्ञप्तिमा थियो ।
तर त्यसभन्दा अगाडि निकालेको पहिलो विज्ञप्तिमा भने एक युवतीले आत्महत्या गरेको र उनका साथीहरू क्याम्पस प्रशासनको कुरा सुन्न तयार नभएकाले परिस्थिति बिग्रिएको भनेर उल्लेख थियो ।
Facebook Comment
Comment