काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि सहभागी सबै टोलीले तयार भएको बताएका छन् ।
आइतबार दशरथ रङ्गशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा सबै टोलीका प्रशिक्षक र कप्तानले आफूहरू भिड्न तयार भएको जानकारी गराए ।
नेपाली महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टोलीको तयारी राम्रो भएको र विदेशमा रहेका सबै खेलाडी स्वदेश फर्किसकेको जानकारी दिए । उनले नजिता आफ्नो पक्षमा पार्ने विश्वास व्यक्त गरे ।
त्यस्तै नेपाली महिला टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले प्रतियोगिता नेपालका लागि ठूलो अवसर भएको बताइन् । खेलका लागि तयारी राम्रो रहेको र मनोबल उच्च रहेको भन्दै उनले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरिन् ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा सोमबार फाल्गुन ५ गतेदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुँदै छ ।
नेपालमा पहिलो पटक चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबनान सहभागी हुनेछन् ।
खेलहरू राउन्ड रोबिनका आधारमा हुनेछन् । शीर्ष दुई टोलीबीच फाइनल खेल हुने छ । प्रतियोगिताको टिकट दर साधारणतर्फ ५ सय र भीआइपीतर्फ एक हजार तोकिएको छ ।

(तस्वीरः सरोज बस्नेत)
Facebook Comment
Comment