अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर बर्न अस्पताल पुगे राष्ट्रपति

नेपालभ्युज

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर बर्न अस्पताल पुगे राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शनिबार पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री पौडेल र पोखराका मेयर धनराज आचार्यलाई घाइते भएका थिए । उनीहरू दुवै जनालाई उपचारका लागि कीर्तिपुर ल्याइएको थियो ।

राष्ट्रपति पौडेल आइतबार बिहान अस्पताल पुगेर अर्थमन्त्री पौडेल  र पोखरा महानगरपालिकाका मेयर आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेललाई स्वास्थ्य सचिव डा. रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा  अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा निस्किएको आगोको भिल्काले टिपेपछि बेलुन पड्किएको थियो। अर्थमन्त्री  पौडेलको अनुहारको भागमा ५/६ प्रतिशत जलन भएको उपचाररत चिकित्सकले जनाएका छन् ।

मेयर आचार्यको गालाको बायाँ पट्टीको कान नजिकैको भाग र हातमा जलन भएको छ । उनीहरू दुवैको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा उपचार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved