काठमाडौं । श्याम दाइ (श्यामसुन्दर पुडासैनी) बितेको कति छिटो ४५ दिन बितिसकेछ । यो बीचमा धेरै पटक श्याम दाइको बारेमा लेख्ने प्रयत्न गरेँ र फेरि छाडेँ । उहाँ जस्तो व्यक्ति नेपाली पत्रकारिता जगतमा बिरलै हुन्छन् । यसर्थ, उहाँको पृथक काम गर्ने शैली शब्दमा उतार्न पर्छ भन्ने लागेर लेख्न खोज्थेँ ।
मेरो लेखनले आफन्त र साथीभाइ फेरि एक पटक विक्षिप्त बन्नेछन् अथवा खत बस्न लागेको घाउ आलो हुनेछ भन्ने लागेर फेरि छाड्दै रहेँ ।
यही लेखौँ कि नलेखौँबीचको द्वन्द्वबाट म आफैँ पेलिइरहेँ, दुखिरहेँ । मनलाई भार थुप्रिएको थुप्रियै भयो ।
अझै उहाँको नाम लेख्न काम्छन् यी हातहरू । अपत्यारिलो खबरलाई विश्वास नगर्नुको कुनै विकल्प नभेट्दा अजीव खालको बेचैनी हुँदो रहेछ र भित्रभित्रै बेस्सरी दुख्दो रहेछ ।
हुन त श्याम दाइको विषयमा मैले तारिफ गर्नु र उहाँ को हो ? के हुनुहुन्थ्यो भन्नु इन्द्रको अगाडि स्वर्गको बयान गर्नुझैँ हो । किनकि उहाँको बारेमा सायदै व्यक्तिलाई मात्र थाहा छैन ।
सङ्गत त धेरै समयको थिएन तर, नेपालभ्युजमा करिब डेढ वर्षको सहकार्यले नै आत्मीयता भरिदिएको थियो ।
माघ १९ गते शुक्रबार राति करिब ११:४५ बजे श्याम दाइले हामीलाई छाडेर जानुभयो । शनिबार बिहान करिब चार बजेतिर एक्कासि निद्राबाट बिउँझिएर मोबाइल हेर्दा थाहा पाएँ । शुक्रबार रातिदेखि तारन्तार कल, एसएमएस आइरहेका रहेछन् ।
जसमध्ये कोही मलाई दाइको बारेमा बताइरहेका थिए त कोही उहाँको अपत्यारिलो खबरको सत्य जान्न चाहन्थे । यद्यपि, सबैको चासोको विषय श्याम दाइको स्वास्थ्य अवस्था नै थियो । जसबाट म स्वयं नै जानकार थिइनँ ।
कुरा घटना घट्नुभन्दा चार महिना अघिको मात्र हो । पशुपतिनाथमा लागेको कोटीहोममा कसरी सर्वसाधारण लुटिइरहेका छन् भन्ने लाइभ रिपोर्टिङका लागि रातको ११/१२ बजे पुगेको र दाइमाथि अभद्र व्यवहार गर्दै आक्रामक हमला गरेको घटना झलझली याद आयो ।
यो समय पनि ठ्याक्कै त्यस्तै थियो । ११/१२ बजेदेखि आएका एसएमएस र कल अनि सबैको चिन्ताको विषय उहाँको स्वास्थ्य । मलाई लाग्दै थियो “दाइ फेरि कहीँ रिपोर्टिङको लागि जानुभयो र फेरि त्यस्तै घटना घट्यो । किनकि उहाँ त्यस्तो पत्रकार हो, जसले फटाहाहरूको भीडबाटै उनीहरूको कारनामा पर्दाफास गर्न सक्नुहुन्थ्यो ।”
मलाई त लाग्थ्यो उहाँलाई डर के हो थाहै छैन । अझ भनौँ, उहाँलाई डरै लाग्दैन ।
मोबाइलमा आएका सबै एसएमएस पढ्दै गएँ । ‘मिडिया फ्रेन्ड्स’ भन्ने ग्रुपमा आएका एसएमएस स्क्रोल गर्दै जाँदा भेटे । “साथीहरू हामी सबैका प्रिय साथी श्यामसुन्दर पुडासैनी हामीमाझ रहनुभएन, उहाँको पार्थिव शरीर हेल्पिङ ह्यान्ड्स हस्पिटल चावाहिलमा” म्यासेज नवराज दाइको थियो ।
आज डेढ महिनासम्म पनि पत्याउन गाह्रो लाग्छ । फेरि नपत्याउँ पनि कसरी, अस्पतालको शव गृहमा दाइलाई देखेको, टिचिङमा पोस्टमार्टम अघि र पछिको दृश्य, सेतो कपडाले बेरेर एम्बुलेन्समा राखेर नुवाकोट लगिएको ।
चितामा जल्दै गर्नुभएको फोटो र भिडिओ यी सबै–सबै आँखै अगाडि भए । नास्तिक स्वभावको व्यक्ति म, मन्दिर अगाडि पुग्दाभन्दा बेजोडले हुइँकिरहेको एम्बुलेन्स देख्दा ढोग्दै ‘प्रार्थना’ गर्ने गर्थेँ ।
ताकी जीवन र मृत्युसँग लडिरहेका ती अनजान व्यक्तिलाई केही नहोस् । तर, त्यहाँ उही साइरन, उही हुइँक्याइमा उही एम्बुलेन्स आयो । जसले दाइलाई हामीबाट टाढा लग्यो । कहिलेकाहीँ समय र परिस्थिति त्यस्तो पनि हुँदो रहेछ । जुन मैले त्यो बेला महसुस गरिरहेकी थिएँ ।
भन्छन्, नि समय बितेसँगै सबै घाउहरू सुक्दै जान्छ । तर, समय बितेसँगै उहाँको अभाव झनझन् खड्किरहेको छ हामीलाई । जता गए पनि दाइकै चिजबिजसँग ठोक्किन्छ । अनि बिर्सन खोज्दा खोज्दै पनि सम्झनाकै बाछिटा बर्सिरहन्छ ।
उहाँलाई देख्दा लाग्थ्यो, “पत्रकार त यस्तो पो हुँदो रहेछ । यसरी पो पत्रकारिता गर्न पर्दो रहेछ ।” कहिलेकाहीँ त एउटै काम गर्दागर्दा दिक्क लाग्छ, त्यो मानव स्वभाव नै हो । तर, डेढ वर्षको अवधिमा कहिल्यै उहाँले काममा दिक्क मान्नुभएको देखिनँ । सधैँ उही जोस, उही रफ्तार, उही जुनुन् अनि उही ऊर्जा ।
उहाँ कहिल्यै सिनियर बन्न खोज्नु भएन, कहिल्यै सिकाउन कन्जुस्याइँ गर्नुभएन र कहिल्यै झर्को मान्नुभएन । जस्तो समय र परिस्थिति छ उहाँ सधैँ त्यस्तै बन्नुभयो । कहिले अभिभावक बनेर सम्झाउनुभयो, कहिले गुरु बनेर सिकाउनुभयो, कहिले साथी बनेर सँगसँगै हल्ला गर्नुभयो ।
अफिसकै पछाडि फल्ने भोगटे टिपेर खाँदा होस् या अरूको बारीको अम्बा ल्याएर खाँदा । रोचक आइडिया उहाँबाटै फुर्थ्यो । कहिले गुलाफको चिया पकाएर टेस्ट नै फेर्दिनुहुन्थ्यो त कहिले गोबीको चटपट बनाउनुहुन्थ्यो । सधैँ अरूभन्दा फरक र रोचक गर्न खोज्ने स्वभाव नै उहाँको पहिचान थियो ।
कोही कसैको मृत्युको समाचार लेख्दा हाँस्दै भन्नुहुन्थ्यो, “यो मरेपछि फोटो ‘ब्ल्याक एन्ड ह्वाइट’ बनाउनै पर्छ भन्ने नियम कसले ल्याएको होला है”
धेरै पटक यही विषयमा न्युज रूममा छलफल भएको थियो, साथीहरूसँग उहाँको । यद्यपि, दाइ निधन भएपछि फोटो कालो बनाउने नियमको विरुद्धमा हुनुहुन्थ्यो ।
केही समय अगाडि मात्र अमेरिकामा निधन भएका विवेक पङ्गेनीको समाचार लेखिरहँदा वियोगमा रुने आफन्तको चिच्याहटमा पनि हाम्रो बहस भएको थियो ।
उहाँ मृत्युमा चिच्याउँदै रुनु बेकार रहेको बताउनुहुन्थ्यो, म आफ्नो मान्छे गुमाउँदा जो पनि रुन्छ, त्यो भोग्नेलाई थाहा हुन्छ भन्दै ठूलो स्वर गर्थेँ । उहाँ हाँस्दै जवाफ दिनुहुन्थ्यो – म झन् चुप बस्ने त कुरै भएन । हाम्रो निकैबेर बहस चलेको थियो यो विषयमा ।
न त उहाँले आफ्नो अडान छोड्नुभयो नत मैले नै छाडेँ । तर, जब उहाँको पार्थिव शरीर अगाडि म उभिरहेकी थिएँ । यी सबै झलझली याद आइरह्यो । अनि लाग्दै थियो, उहाँ हाम्रै छेउमा मोबाइल चलाउँदै बसिरहनुभएको छ अनि भन्नुहुँदैछ, “हत्तेरिका कत्ति रोइरा हौँ, यो सबलाई पर्छ प्रकृतिको नियम नै यही हो ।”
जबजब समाजमा आपराधिक घटना घट्थे । सबैले श्याम दाइलाई जानकारी गराउने गर्थ्यौँ । किनकि त्यो बिटमा उहाँको विशेष दख्खल थियो । आजभोलि त्यस्ता घटना आए फेरि आउँछ दाइको याद । हो यो प्रकृतिको नियम नै हो । यसरी नै मन बुझाउनुको विकल्प छैन हामीसँग । तर, एउटा प्रश्न सधैँ खट्किरहन्छ ।
प्रकृतिको कस्तो नियम हो यस्तो छोटो समयमै किन लग्यो उहाँलाई ? उहाँका धेरै अधुरा सपना पूरा गर्न दिएको भएपनि हुन्थ्यो । उहाँ त्यो क्षमता भएको व्यक्ति हो, जसले समाचार लेखेर धेरै मानिसको जीवन उद्धार गर्नुभएको छ । सबैको काम लाग्ने व्यक्ति हो – उहाँ ।
जब कोही साथीहरूसँगको भेटमा उहाँको कुरा निस्किन्छ । अनि यस्तो गरे, उहाँ बाँच्नुहुन्थ्यो होला, यस्तो हुनुपर्थ्यो लगायतका कुरा निस्किन्छ त्यसले फेरि बेस्सरी दुखाउँछ ।
अनि लाग्छ, “बरु कोही कसैले भनिदेओस्, यो सबै सपना हो उहाँ लङ टुरमा जानुभएको छ विदेशतिर, त्यै भएर अफिस नआउनुभएको हो । आउँदा फेरि पहिले जसरी नै चकलेट ल्याइदिनुहुन्छ ।”
घरबाट फर्कँदा होस् या कतैको यात्राबाट फर्कँदा केहीँ न केहीँ खानेकुरा ल्याइदिने उहाँको बानीले घरको याद दिलाइदिन्थ्यो ।
विवाहको विषयलाई लिएर कति जिस्क्याइन्थ्यो कति तर, कहिल्यै रिसाउनुभएन दाइ । योजना बुन्थ्यौँ, न्युजरुमका साथीहरू मिलेर नुवाकोट दाइको घरबाट जन्ती कसरी जाने भनेर । तर, समय यस्तो पनि आयो, दाइको जन्ती जाने सपना देखेको घरबाट मलामी जानुपर्यो ।
अफिस शून्य जस्तै लाग्छ अहिले । दाइको खाली कुर्सी र सट डाउन भएको कम्प्युटर छ । दाइ हुनुहुन्न, छ त केवल भित्तामा झुन्डिएको दाइको फोटो जसमा लेखिएको छ – हार्दिक श्रद्धाञ्जली, स्व. श्यामसुन्दर पुडासैनी
श्याम दाइप्रति फेरि एकपटक हार्दिक श्रद्धासुमन !
Facebook Comment
Comment