काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले स्वर्गद्वारी गुठी पीडितलाई जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानुनी व्यवस्थाको तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले गुठी संस्थानको समन्वयमा पीडितलाई जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानुनी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।
स्वर्गद्वारी गुठी पीडितको समस्या सम्बन्धी विषय तथा कार्यप्रगति समितिलाई जानकारी गराउन पनि निर्देशन दिइएको समिति सभापति कुसुमदेवी थापाले जानकारी दिइन् ।
बैठकमा गुठी संस्थाका अध्यक्ष डा. शिवराज पण्डितले गुठी जग्गाको विषयमा धेरै नै समस्या देखिएको भन्दै समाधानका लागि अध्ययन भइरहेको बताए ।
गुठी जग्गा निजी नहुने सर्वोच्चको निर्णय र गुठी जग्गामा मोही रहने व्यवस्था बाझिएकाले त्यसमा दुवै पक्षलाई नै सम्बोधन गर्नेगरी संस्थानले काम गर्ने उनले बताए ।
समितिले स्वर्गद्वारी गुठी किसानका समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल गरेको हो ।
Facebook Comment
Comment