काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज ओमन प्रस्थान गरेकी छन् ।
आजदेखि फेब्रुअरी २० सम्म ओमनको राजधानी मस्कटमा हुने ‘आठौँ इन्डियन ओसन कन्फ्रेन्स’ मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
उनलाई परराष्ट्र सचिव अमृतबहादुर राई र परराष्ट्रका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे ।
ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा सम्मेलनमा भाग लिन गएकी हुन् ।
भ्रमणका क्रममा, मन्त्री राणाले ‘ग्लोबल साउथको आवाज प्रवर्द्धन’ शीर्षकको सत्रमा सम्बोधन गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनले ओमानका परराष्ट्रमन्त्री, ऊर्जामन्त्री, खनिज मन्त्री तथा अन्य सम्बन्धित मन्त्रालयका पदाधिकारीहरूसँग समेत भेटवार्ता गर्ने छिन् ।
दुई देशबीच आपसी सहकार्यलाई सशक्त बनाउन केही समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारीसमेत रहेको जनाइएको छ ।
सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको उक्त सम्मेलनमा मन्त्री डा राणाले नेपालका तर्फबाट सहभागिता जनाउने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री डा राणाले मस्कटमा गल्फ कोअपरेसन काउन्सिल (जिसीसी) मा आवद्ध राष्ट्रहरूमा कार्यरत नेपाली राजदूत र कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गर्ने कार्यक्रम पनि छ ।
Facebook Comment
Comment