काठमाडौं । देशभर चलिरहेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाअन्तर्गत टुँडिखेलमा आज (बिहीबार) पाँच हजारभन्दा बढी विद्यार्थीले सहभागिता जनाउँदैछन् । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक हिन्दू स्वयंसेवक सङ्घ नेपालले जनाएको छ ।
परीक्षा गर्न पाँच हजारभन्दा बढी विद्यार्थीका लागि मञ्च, कुर्सी, शौचालयलगायत सबै तयारी पूरा गरिएको छ ।
कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले मात्र परीक्षामा सहभागी हुन पाउने ज्ञान परीक्षामा नेपालको इतिहास, भूगोल, संस्कृति, धर्म, परम्परा, वैदिक ज्ञानलगायत प्रश्न सोधिने बुझिएको छ । यसका लागि ८०० प्रश्नसहितको पुस्तक विद्यार्थीले प्राप्त गरी अध्ययन गरिरहेका छन् ।
संस्कृति ज्ञान परीक्षामा प्रथम हुनेले ५१ हजार, द्वितीयले ३१ हजार, तृतीयले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । । ५० जनाले सान्त्वना पुरस्कारवापत् प्रतिविद्यार्थी एक–एक हजार प्राप्त गर्नेछन् ।
परीक्षाको नतिजा घोषणा पनि परीक्षा सकिएको एक घण्टाभित्र सार्वजनिक गरी पुरस्कार वितरण हुनेछ ।
स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा हिन्दू स्वयंसेवक सङ्घले प्रत्येक वर्ष गर्दै आएको छ । अहिले देशभर जिल्ला र पालिका तहमा परीक्षा हुने क्रम जारी छ ।
Facebook Comment
Comment