काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को निर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिएको छ । बिहीबार काठमाडौंमा निर्वाचित कार्यसमितिले सपथ लिएको हो ।
अध्यक्षमा निर्वाचित डा.बाबुराम भट्टराईलाई निर्वाचन समिति संयोजकले शपथ गराए भने अन्य पदाधिकारी र कार्यसमिति सदस्यलाई अध्यक्ष भट्टराईले शपथ गराएका हुन् ।
बिहीबार सम्पन्न मतपरिणामको अन्तिम नतिजा अनुसार प्रतिद्वन्द्वी नेत्र चापागाईँलाई पराजित गर्दै अध्यक्षमा भट्टराई निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ ।
उपाध्यक्षमा खसआर्यतर्फ ईश्वर रिजाल, आदिवासीतर्फ टेकबहादुर बाठामगर विजयी भए । यस्तै महासचिव खुल्लामा सोनामसिंह स्याङ्तान विजयी भएका छन् ।
महाधिवेशनले भट्टराईले प्रस्तुत गरेको सांगठानिक तथा राजनीतिक प्रतिवेदन पारित गर्नुका साथै प्रवक्ता कृष्ण शर्माले पेस गरेको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
Facebook Comment
Comment