जोर्डनका राजासँग ट्रम्पले दोहोर्‍याए – गाजा अमेरिकाले नियन्त्रणमा लिनेछ

नेपालभ्युज

जोर्डनका राजासँग ट्रम्पले दोहोर्‍याए – गाजा अमेरिकाले नियन्त्रणमा लिनेछ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्डनका राजा अब्दुल्लाहसँगको भेटवार्तामा गाजा पट्टीको नियन्त्रण अमेरिकाले लिने दोहोर्‍याएका छन् ।

ह्वाइट हाउसमा मङ्गलबार भएको भेटमा ट्रम्पले यस्तो योजना सुनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसअघि राष्ट्रपति ट्रम्पले फेब्रुअरी ४ मा गाजा पट्टीमा अमेरिकी नियन्त्रणको प्रस्ताव राखेका थिए । प्यालेस्टिनीलाई इजिप्ट र जोर्डनमा स्थायी रुपमा बसोबासको व्यवस्था मिलाउनु पर्ने उनले बताएका थिए ।

यद्यपि, जोर्डनलगायत त्यस क्षेत्रका अन्य देशले ट्रम्पको सुझावमा आपत्ति जनाएका थिए । ट्रम्पले यो प्रस्ताव गरेपछि उनी र जोर्डनका राजा अब्दुल्लाह बीचको यो पहिलो भेट हो ।

जोर्डन मध्यपूर्वमा अमेरिकाको एक प्रमुख सहयोगी हो । तर यो पटक भने अब्दुल्लाहले लाखौं प्यालेस्टिनीहरूलाई स्वागत गर्ने ट्रम्पको प्रस्तावलाई पहिले नै अस्वीकार गरिसकेका छन् ।

‘जोर्डन प्यालेस्टिनीहरूको विस्थापन विरुद्धको आफ्नो अडानमा दृढ छ,’ ट्रम्पसँगको भेटपछि अब्दुल्लाहले भने ।

ओभल अफिसमा जोर्डनका राजा अब्दुल्लाहको छेउमा बसेका अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो मन परिवर्तन नगर्ने संकेत गरेका थिए । प्यालेस्टिनीहरूलाई स्वीकार गर्ने प्रश्नमा भने उनले ’सबैका लागि उत्तम’ निर्णय लिनुपर्ने बताए ।

भेटपछि ट्रम्पले भने, ‘मलाई लाग्छ जब हामी वार्ता समाप्त गर्छौं, हामीसँग एउटा यस्तो ठाउँ हुनेछ, जहाँ उनीहरू (प्यालेस्टिनी) धेरै खुशी र सुरक्षित रुपमा बस्न सक्नेछन् ।’

हमासलाई नेतन्याहुको चेतावनी : शनिबारसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम भङ्ग हुन्छ

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved