काठमाडौं । इजरायली बन्धकहरूको रिहाइ रोक्ने हमासको घोषणालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि प्रतिक्रिया दिएका छन् ।
उनले पनि ट्रम्पको चेतावनीको समर्थन गर्दै यदि हमासले शनिबार दिउँसोसम्ममा इजरायली बन्धकहरूलाई रिहा नगरेमा गाजामा युद्धविराम भङ्ग गरेर फेरि लडाईं सुरु गर्ने बताएका हुन् ।
‘यदि हमासले शनिबार दिउँसोसम्म हाम्रा बन्धकहरूलाई रिहा गरेन भने हामी गाजामा युद्धविराम समाप्त गर्नेछौं र फेरि लडाईं सुरु गर्नेछौं,’ उनले भने ।
यसैबीच नेतान्याहुले इजरायली सेनालाई गाजा र वरपर भेला हुन आदेश दिएको बीबीसीको समाचारमा उल्लेख छ । बन्धकहरूको रिहाइ रोक्ने हमासको घोषणापछि उनले यो कदम चालेका हुन् ।
नेतान्याहुले शनिबारसम्ममा बाँकी रहेका सबै ७६ बन्धकको रिहाइको कुरा गरिरहेका हुन् वा तीन जनाको बारेमा मात्र कुरा गरिरहेका थिए भन्ने कुरा स्पष्ट पारेनन्, तर एक मन्त्रीले भने उनले भनेको अर्थ सबैजना हो ।
इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरिरहेको कारणले आफूले बन्धकहरूको रिहाइ रोकेको हमासले सोमबार बताएको थियो । हमासको यो आरोपलाई इजरायलले भने अस्वीकार गरेको छ ।
हमासको घोषणापछि अमेरिकी राष्ट्र ट्रम्पले भनेका थिए, ‘बन्धक बनाइएका सबै नागरिकहरूलाई रिहा नगरेमा इजरायलले उसँगको युद्धविराम सम्झौता रद्द गर्नुपर्छ ।’ नेतन्याहुले यही सुझावलाई सम्बोधन गर्दै हमासलाई चेतावनी दिएका हुन् ।
इजरायल र हमासबीचको युद्धविराम सम्झौता जनवरी १९ मा लागू भएको थियो । हमासले त्यसयता १६ इजरायली र पाँच थाई बन्धकलाई रिहा गरिसकेको छ । बदलामा, इजरायलले ५६६ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ ।
Facebook Comment
Comment