काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा फर्किनु नैतिक प्रश्न भएकाले सम्बन्धित व्यक्तिले नै यसबारे सोच्नुपर्ने बताएका छन् ।
विराटनगरमा सोमबार समाजवादी प्रेस सङ्गठन मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्काउनु राजनैतिक मूल्य–मान्यतामा देखिएको विग्रह भएको टिप्पणी गरे ।
एक प्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री खनालले संविधान संशाेधनभन्दा पनि संविधान पुनरावलोकन गर्न सुझाव दिए । उनले विगत १० वर्षमा संविधान कार्यान्वयन नै नभएको अवस्थामा संविधानले काम गर्न नसकेको भन्नु गलत टिप्पणी भएको बताए ।
खनालले शासकीय स्वरुप परिवर्तनले मात्र मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन सम्भव नरहेको उल्लेख गरे ।
उनले सामाजिक सञ्जाललाई नियमन गर्नैपर्ने अवस्था रहेको भएपनि वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर नपर्ने गरी विधेयक ल्याउन आग्रह गरे ।
नेता खनालले सामाजिक सञ्जाललाई मर्यादित बनाउन पनि नियमन गर्नुपर्ने धारणा व्यक्त गरे ।
Facebook Comment
Comment