काठमाडौं । ‘मड्रिड डर्बी’ बराबरीमा सकिएपछि स्पेनिस ला लिगा फुटबलको उपाधि दौड रोचक बनेको छ ।
मड्रिडका दुई प्रमुख प्रतिद्वन्द्वी रियल मड्रिड र एट्लेटिको मड्रिडले आइतबार बिहान १–१ गोलको बराबरी खेलेका हुन् । यससँगै शीर्ष स्थानको रियलले अङ्क तालिकामा अग्रता कायमै राखेको छ ।
साविक विजेता रियल ५० अङ्क छ । समान खेलबाट ४९ अंकको एट्लेटिको दोस्रो स्थानमा यथावत छ । आइतबार बिहानको खेल जितेको अवस्थामा एट्लेटिकोलाई शीर्ष स्थानमा उक्लने अवसर थियो । तर उसको त्यो अवसर गुमायो ।
अर्जेटिनी स्टार जुलियन अल्भारेजले गरेको गोलको अग्रता जोगाउन नसक्दा एट्लेटिकोले रियलसँग अङ्क बाढेको छ । सान्तियागो बार्नाबेउमा ७८ हजार समर्थकमाझ अल्भारेजले ३५औं मिनेटमा अग्रता बनाए । पाएको पेनाल्टीमा उनको प्रहार सटिक रह्यो ।

केलिएन एमबाप्पेले खेलको ५०औं मिनेटमा गोल फर्काउँदै घरेलु टोली रियलको हार टारेका हुन् ।
‘मड्रिड डर्बी’ बराबरीमा सकिएपछि ला लिगामा उपाधि दौड रोचक बनेको छ । किनकि शीर्ष र दोस्रो स्थानमा रहेको रियल र एट्लेटिकोलाई बार्सिलोनाले पछ्याइरहेको छ ।
एक खेल कम खेलेको बार्सिलोना ४५ अङ्कसहित तेस्रो स्थानमा छ । आज राति सेभियालाई हराएका बार्सिलोनाको ४८ अङ्क हुनेछ । यो रियलभन्दा दुई र एट्लेटिकोभन्दा एक अङ्कमात्र कम हो ।
अर्कोतिर चौथो स्थानमा रहेको एथ्लेटिक क्लब बिल्बाओको पनि २३ खेलबाट ४४ अङ्क छ । यसैले उपाधि दौड रोचक बनेको हो ।
Facebook Comment
Comment