काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन आजबाट हुने भएको छ । २९ माघसम्म चल्ने महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो १२ बजेदेखि उद्घाटन हुनेछ ।
महाधिवेशन व्यवस्थापन समितिका अनुसार देशभरबाट एक हजार ५ सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । व्यवस्थापन समिति संयोजक हिसिला यमीका अनुसार प्रथम महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
महाधिवेशनका लागि आउने एक हजार पाँच सय जना महाधिवेशन प्रतिनिधिमध्ये एक हजार तीन सय ५० जना चुनिएर आएका छन् भने बाँकी मनोनीत हुन् । नेसपामा १० प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने व्यवस्था छ ।
पार्टीमा ११ सदस्यीय पदाधिकारी रहनेछन् । एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहन्छन् ।
कात्तिक ५ देखि ६ गतेसम्म पोखरामा भएको प्रथम विधान अधिवेशनले पार्टीको नाम र झण्डा परिवर्तन गर्नुको साथै केन्द्रीय समितिको आकार घटाएको थियो । अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना, पदाधिकारी ११ सदस्यीय हुने व्यवस्था पारित गरेको थियो । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी , १ खसआर्य, १ दलित), १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुने व्यवस्था छ । निर्वाचन समिति ३३ सदस्यीय हुनेछन् । सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको थियो ।
पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको थियो। त्यस्तै सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको थियो । नेसपा (नयाँ शक्ति) ले मनोनीतबाहेक अरू पदमा सकेसम्म प्रतिस्पर्धा गराउने तयारी गरेको पार्टी प्रवक्ता कृष्ण शर्माले बताए ।
नेसपा (नयाँ शक्ति) मा करिब ३० हजारले पार्टी सदस्यता नवीकरण गरेका छन् । २० जना पार्टी सदस्य बराबर एक जना महाधिवेशन प्रतिनिधि आउने व्यवस्थाअनुसार कतै निर्वाचत त कतै सर्वसम्मत रूपमा प्रतिनिधि आएका छन् ।
लामो समय वामपन्थी राजनीतिमा सक्रिय रहेका भट्टराई २०७२ सालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि नयाँ वैकल्पिक शक्ति निर्माणमा लागेका थिए । भट्टराई माओवादी १० वर्षे जनयुद्धका प्रमुख नेतामध्येका एक हुन् । माओवादीबाट अब देशको विकास हुन नसक्ने निष्कर्ष निकाल्दै उनी २०७२ असोज ९ गते पार्टीबाट अलग भएका थिए । २०७३ जेठ ३० गते आफ्नै नेतृत्वमा नयाँ शक्ति नेपाल गठन गरेका थिए ।
Facebook Comment
Comment