काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज (आइतबार) दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
उनले अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर तथा सजाय विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यसका साथै बैंकिङ कसुर तथा सजाय विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची तय छ ।
यसैगरी आजको बैठकमा गृहमन्त्री रमेश लेखकले विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
साथै विधायन विधेयक २०८० सम्बन्धमा ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनको विभिन्न बुँदाहरू र विधेयकका दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचीसमेत रहेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले ‘विधायन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गतको तेस्रो बैठक बस्न लागेको हो । प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेस भएका छन् । तर राष्ट्रियसभामा बहुमत नपुग्ने भएकाले सरकार ती अध्यादेश निर्णायार्थ पेस गर्नबाट पछि हटेको ।
त्यस्तै राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ः१५ बजे बस्नेछ ।
Facebook Comment
Comment