बैङ्क तथा वित्तीय संस्थाविरुद्धको भ्रामक प्रचारप्रति सङ्घको आपत्ति

नेपालभ्युज

बैङ्क तथा वित्तीय संस्थाविरुद्धको भ्रामक प्रचारप्रति सङ्घको आपत्ति

काठमाडौं । नेपाल मुद्रा विप्रेषक सङ्घले बैङ्क तथा वित्तीय संस्थाविरुद्ध फैलाइँदै आएको भ्रामक प्रचार र अराजक गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै सरकार र सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ ।

सङ्घले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिहरूले आम सर्वसाधारणलाई भ्रमित पार्नुका साथै समग्र वित्तीय स्थायित्वमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएको हो।

सङ्घका अनुसार पछिल्लो समय केही व्यक्तिहरू र समूहहरूले सामाजिक सञ्जाल र अन्य सार्वजनिक मञ्चहरूमा बैङ्क तथा वित्तीय संस्थाबारे गलत सूचना फैलाइरहेका छन्। यस्ता अफवाहहरूले वित्तीय प्रणालीमा अस्थिरता ल्याउन सक्छ र सर्वसाधारणको विश्वासलाई कमजोर बनाउन सक्छ। यसप्रकारका प्रचारलाई तत्काल रोक्न सरकार र नियामक निकायलाई ध्यानाकर्षण गराउँदै सङ्घले कडा निगरानी र कानुनी कारबाहीको माग गरेको छ।

सङ्घले नेपाल राष्ट्र बैङ्क तथा सम्बन्धित वित्तीय संस्थाहरूको आधिकारिक निर्देशनअनुसार काम गरिरहेको उल्लेख गर्दै आम सर्वसाधारणलाई सामाजिक सञ्जाल र अन्य अनधिकृत स्रोतहरूमा आएको भ्रामक प्रचारप्रति सचेत रहन अनुरोध गरेको छ। साथै,  नागरिकलाई केवल आधिकारिक स्रोतबाट आएको सूचना मात्र विश्वास गर्न आग्रह गरेको छ।

सङ्घले बैंकिङ  प्रणालीको स्थायित्व सुनिश्चित गर्न नेपाल राष्ट्र बैङ्क र अन्य वित्तीय संस्थाहरूलाई एकीकृत रणनीति अवलम्बन गर्न सुझाव दिएको छ। भ्रामक प्रचार गर्ने व्यक्तिहरू र संस्थाहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्न पनि सरकारलाई ध्यानाकर्षण गराइएको छ।

नेपाल मुद्रा विप्रेषक सङ्घ नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत रेमिट्यान्स कम्पनी र वित्तीय संस्थाहरूको प्रतिनिधित्व गर्ने छाता सङ्गठन   हो। २०६१ सालमा स्थापित यस सङ्घले रेमिट्यान्स उद्योग प्रवर्द्धन, वित्तीय पहुँच विस्तार, प्रविधि नवप्रवर्तन, गरिबी निवारण, र समावेशी आर्थिक नीतिहरूको वकालत गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved