प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, कार्यसूचीमा छैन अध्यादेश

नेपालभ्युज

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, कार्यसूचीमा छैन अध्यादेश
फाइल तस्वीर ।

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची छ ।

त्यस्तै, कानुनमन्त्री अजयकुमार चौरसियाले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस् र विधायन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।

यसैगरी आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अन्तर्राष्ट्रिय सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रसम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

बिहीबार दैनिक कार्यसूचीमा परेर पनि अगाडि बढ्न नसकेको अध्यादेशसम्बन्धी कार्य आजको सम्भावित कार्यसूचीमा छैन ।

राष्ट्रियसभामा सत्ता पक्षको बहुमत नपुग्ने भएपछि संसदमा टेबल भएका ६ वटा अध्यादेश बिहीबार निर्णायार्थ प्रस्तुत गरिएन ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल अध्यादेश पारित गराउनलाई निर्णायक छ । तर उसले निर्णय गर्न सकिरहेको छैन । भूमिसम्बन्धी अध्यादेशलाई लिएर पार्टीमा विवाद भएकाले जसपा नेपालले पक्षमा निर्णय गर्न नसकेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved