काठमाडौं । टिकटकरहरू अंशु वर्मा र मिस पविले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटर टिकटक बन्द नगर्दिन आग्रह गरेका छन् ।
उनीहरूले बिहीबार आफूलाई भेटेर यस्तो आग्रह गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
‘बिहीबार दिउँसो आन्तरिक काममा व्यस्त थिएँ । सामाजिक सञ्जालका प्रतिभावान क्रिएटर मिस पवि र अंशु वर्मासँग साँझ कुराकानी भयो । उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिए,’ उनले फेसबूकमा लेखेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले २०८० कात्तिक २७ गते टिकटक सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
तर वर्तमान सरकारले गत भदौ ६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नेपाली कानुनको पालनाको शर्तसहित टिकटकमाथिको प्रतिबन्ध फुकुवा गराएको थियो ।
बिहीबार संसद् बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले उनको खोजी गरेका थिए ।
प्रचण्डले भाषण गरिरहँदा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा भने बैठकमा उपस्थित भएका थिए ।
Facebook Comment
Comment