काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा नेपाल उपाधि दौडबाट बाहिरिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो ।
नेपालको यो लगातार चौथो पराजय हो भने थाइल्याण्ड प्रतियोगितामा अपराजित छ ।
नेपालले १९.१ र १८.६ ओभरमा लगातार विकेट गुमाएपछि हार व्यहोरेको हो ।
थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १०१ रन मात्र बनायो ।
नेपालका लागि रुबिना क्षेत्रीले २६, कविता जोशीले २४ र रोमा थापाले १९ रन जोडिन् । पूजा महतोले १८ रन बनाइन् ।
थाइल्याण्डका लागि थिपाचा पुथावोंगले ३ र फन्निता मायाले २ विकेट लिइन् ।
यसअघि थाइल्याण्डले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १०६ रनमा बनाएको थियो ।
थाइल्याण्डका लागि थिपाचा पुथावोंग २५ र चनिदा सुथिरुआंग २७ रनमा अविजित रहिन् ।
नेपालका लागि मनिषा उपाध्यायले ३ विकेट लिइन् । सो क्रममा मनिषाले ४ ओभरमा १८ रन खर्चेर १ मेडन फालिन् ।
रचना चौधरी र पूजा महतोले १–१ विकेट लिइन् । राष्ट्रिय क्रिकेट टीममा रचनाको यो डेब्यू खेल हो । उनी महिला टोलीमा डेब्यू गर्ने ३७औं खेलाडी भएकी छिन् ।
अब बुधबार नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

Facebook Comment
Comment