काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक सोमबार सकिएको छ । तीन दिनसम्म चलेको कार्यकारिणी समिति बैठकले विभिन्न निर्णय गरेको जसपा नेपालले जनाएको छ ।
बैठकले संसदमा पेस भएका अध्यादेशको बारेमा अध्ययन गर्ने जिम्मेवारी पार्टीको संसदीय दललाई दिने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमनले बताए ।
उनका अनुसार बैठकले केन्द्रीय सदस्यमा उदयपुरका खेमनारायण यादव, भक्तपुरका दिलबहादुर लामा र बाराका आत्मराम साहलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । त्यस्तै बैठकले पार्टीबाट प्रमोद साह, कृष्णकुमार यादव र बोम दर्लामी मगरले दिएको राजीनामा स्वीकृत गरेको छ ।
बैठकले प्रदेश इन्चार्ज पनि हेरफेर गरेको छ । लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी महासचिव रामकुमार शर्मालाई दिएको छ।
सदस्य थप्ने विषयमा छलफल भएपनि त्यसका लागि विधान नै संशोधन गर्नुपर्ने भएकाले अगामी कार्यकारिणी समितिको बैठकले निर्णय गर्ने झाले बताए ।
त्यसैगरी, बैठकले काठमाडौँमा रहेका मधेसीलाई गोलबन्ध गर्नका लागि काठमाडौँ उपत्यका विशेष समिति बनाउने निर्णय गरेको छ । यसका लागि राजकिशोर यादव, खालिद सिद्धिकी, मनिष सुमन र शैलेन्द्र साहले जिम्मेवारी पाएका छन् ।
बैठकले फागुन १९ र २० गतेका लागि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकसम्म जनतासँग जसपा नेपाल अभियानलाई जारी राख्ने निर्णय पनि गरिएको छ । यस्तै जसपाले अगामी वैशाखभित्र स्थानीय तह र सबै भातृ संगठनको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ ।
बैठकले मधेसवादी दलको बिचमा भइरहेको मोर्चाबन्दीको गृहकार्य सकारात्मक रहेको र यसलाई अगाडि बढाउने निर्णय गरिएको प्रवक्ता झाले जानकारी दिए ।
Facebook Comment
Comment