काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूलाई फिर्ता पठाउने विषयमा कोलम्बियाका नेताहरूलाई चेतावनी दिएका छन् ।
कोलम्बिया सरकारले निर्वासित आप्रवासीहरूले भरिएका अमेरिकी विमानहरूलाई अवतरण गर्न अनुमति नदिएपछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।
कोलम्बियाले आप्रवासीहरु ल्याइएको विमानहरु सैन्य विमान भएको भन्दै अवतरण गर्न दिएको थिएन ।
कोलम्बिया सरकारको यो कदमपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल साइट ट्रुथ सोसलमा एक पोस्टमा भनेका छन्, “हामी कोलम्बियालाई आफ्नो कानूनी जिम्मेवारी बेवास्ता गर्न दिने छैनौं । कोलम्बियाले जबरजस्ती संयुक्त राज्य अमेरिकाबाट निर्वासित अपराधीहरूलाई फिर्ता लिनुपर्नेछ ।”
उनले थप भनेका छन्, “अमेरिकाले कोलम्बियाका अधिकारीहरुको यात्रामा प्रतिबन्ध लगाउनेछ र उनीहरुको भिसा तत्काल रद्द गरिनेछ । यी प्रतिबन्धहरू कोलम्बियाका साथै यसका सहयोगी र समर्थकहरूमा लागू हुनेछन् ।”
यसअघि ट्रम्पले भनेका थिए, “उनी कोलम्बियामा पनि २५ प्रतिशत कर लगाउनेछन् र एक साताभित्र यो कर बढेर ५० प्रतिशत पुग्नसक्छ ।”
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले पनि जवाफमा भनेका छन्, “अमेरिकाले २५ प्रतिशत ट्यारिफ लगाएको प्रतिक्रियामा हामी पनि अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउनेछन् ।”
यसअघि आइतवार कोलम्बियाका राष्ट्रपति पेट्रोले भनेका थिए, “ट्रम्पले नागरिक विमानबाट आफ्ना नागरिक पठाए स्वीकार गर्नेछौँ । उनीहरुलाई अपराधी जस्तै व्यवहार गर्नुहुँदैन । आप्रवासीहरूलाई ‘सम्मान र मर्यादा’का साथ फिर्ता पठाउनुपर्छ ।”
Facebook Comment
Comment