काठमाडौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा आइतबारको थुनछेक बहस चलिरहेको छ ।
अहिले न्यायाधीश प्रल्हादकुमार योगीको एकल इजलासमा प्रतिवादी रवि लामिछाने पक्षका वकिलहरुले बहस गरिरहेका छन् ।
पूर्व महान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि लामिछानेको पक्षमा बहस गरेका छन् ।
उनले राजनीतिक प्रतिशोध साँधेर लामिछानेमाथि मुद्दा हालिएको तर्क गरेका छन् । उनीविरुद्ध राज्य नै लागेको श्रेष्ठ बताउँछन् ।
उनले बहसका क्रममा भने, ‘राज्यका केन्द्रीय तहका व्यक्ति संलग्न भएर यो मुद्दा दायर भएको हो । राज्यले रवि लामिछानेमाथि षड्यन्त्र गरेर, राजनीतिक प्रतिशोध साँधेर, प्रक्रिया मिचेर बदनियतका साथ मुद्दा हालेको देखिन्छ ।’
सरकारले सहकारी अध्यादेश पनि लामिछानेलाई लक्षित गर्दै ल्याएको श्रेष्ठको तर्क छ ।
लामिछाने पक्षका वकिलको बहसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि न्यायाधीश योगीले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा तारेखमा राख्ने आदेश दिनेछन् ।
सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।
Facebook Comment
Comment