काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमाथि नियन्त्रण पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
ट्रम्पले डेनमार्कको यो स्वायत्त क्षेत्र प्राप्त गर्न नयाँ चासो देखाउँदै आएका छन् ।
यही शनिबार एअर फोर्स वनमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भने, “मलाई लाग्छ कि हामीले यसलाई प्राप्त गर्नेछौं । त्यो टापुका ५६ हजार बासिन्दा हामीसँग आउन चाहन्छन् ।”
डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनले गत हप्ता राष्ट्रपति ट्रम्पसँगको कुराकानीमा ग्रीनल्याण्ड बिक्रीको लागि नभएको बताएका थिए ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१९ मा यो टापु किन्ने आशय व्यक्त गरेका थिए । उनले ग्रीनल्याण्डमाथि अमेरिकाको नियन्त्रण अन्तर्राष्ट्रिय सुरक्षाका लागि ‘अत्यन्तै महत्वपूर्ण’ भएको बताए ।
ट्रम्पले भने, “मलाई विश्वास छ कि त्यहाँका मानिसहरू हामीसँग आउन चाहन्छन् । मलाई थाहा छैन डेनमार्कको दाबी के हो, यदि यसले त्यसो हुन नदिने हो भने यो एकदमै मित्रवत् कदम हुनेछ, किनभने यो स्वतन्त्र संसारको सुरक्षाको लागि हो ।”
उनले थप भने, “मलाई विश्वास छ कि हामीले ग्रीनल्याण्ड पाउनेछौं किनभने यो विश्वको स्वतन्त्रताको कुरा हो । यो स्वतन्त्रता प्रदान गर्ने हामी मात्र हौं ।”
Facebook Comment
Comment