काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता रहेका मनिष झा व्यक्तिगत कामका लागि भन्दै एक महिना बिदामा बसेपछि पार्टीले सहप्रवक्ता रहेकी प्रतिभा रावललाई उक्त जिम्मेवारी दिएको छ ।
सभापति रवि लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान चलिरहेको र पार्टी अधिवेशन केन्द्रित सङ्गठन निर्माण अभियान सञ्चालन गरेकै समयमा कार्यवाहक प्रवक्ता झा बिदामा बस्नुलाई राजनीतिक वृत्तमा स्वाभाविक रूपमा हेरिएको छैन ।
साथै, सभापति लामिछाने पक्राउ परेपछि पार्टीभित्रको अन्तरसङ्घर्षले पनि चर्को रूप लिएको चर्चा लामो समयदेखि चल्दै आएको छ । हाल व्यक्तिगत अध्ययनका लागि श्रीलङ्कामा रहेका झासँग उनको बिदा, पार्टीभित्रको विवाद, पार्टी अधिवेशन लगायतका विषयमा केन्द्रित रहेर नेपाल भ्युजले गरेको कुराकानी :
रास्वपाको कार्यवाहक प्रवक्ताको जिम्मेवारीबाट केही समयका लागि भनेर बिदा बस्नु भएको छ । पार्टी एक प्रकारको सङ्कटमा रहेका बेला बिदा बस्नुपर्ने कारण के आइलाग्यो ?
मैले सक्रिय राजनीति सुरु गरेको लगभग साढे दुई वर्ष भयो । सङ्घीय संसद्को रूपमा काम गर्न थालेको दुई वर्ष भयो । तर, यो दौरान नियमित अध्ययन बाहेक विशेष अध्ययन गर्न कहिले पनि भ्याएको छैन ।
तसर्थ, त्यो अध्ययन गर्नुपर्छ, नयाँ कुरा सिक्नुपर्छ र नियमित अध्ययन अभ्यासभन्दा फरक दायरा र वातावरणमा पुगेर केही नयाँ कुरा सिक्नुपर्छ भनेर मैले बिदा लिएको हुँ ।
श्रीलङ्का भर्खरै एउटा जटिल अर्थतन्त्रबाट उकासिएर सामान्य अवस्थातर्फ फर्किरहेको छ । राजनीतिक रूपमा पनि श्रीलङ्काले एउटा अचम्मको अप्रत्याशित फड्को मारेको छ । त्यसैले गर्दा अध्ययनको क्रममा श्रीलङ्का पुगेर केही नयाँ कुरा सिक्ने प्रयास गर्दैछु ।
सन् २०१४ ताका अमेरिकाको ओक्लोहामा युनिभर्सिटीमा, छात्रवृत्तिमा केही समयको लागि पढ्न जाने मौका पाएको थिएँ । बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान भारत र नेपाल लगायतका देशबाट त्यो विश्वविद्यालय पढ्न जाने विद्यार्थीको भेटघाट कार्यक्रम पनि कोलम्बोमा रहेकोले म केही समयको लागि यतै छु ।
पार्टीको अधिवेशन नजिकिँदै छ । सभापतिमाथिको अनुसन्धान अझै सकिएको छैन । तल्लो तहका अधिवेशन तोकिएको समयमा सम्पन्न हुन सकिरहेका छैनन् । अघिल्लो महिना बसेको केन्द्रीय समिति बैठकले २ माघबाट सङ्गठन निर्माण अभियान चलाउने निर्णय गरेको छ । यस्तो बेला जिम्मेवार पदाधिकारी व्यक्तिगत कारणले मात्रै बिदा बसेको भन्दा कसरी पत्याउने ?
दलमा यस्तो जटिल परिस्थिति र चुनौती रहेको बेला किन बिदा लिनुभयो भनेर भन्दै गर्दा मलाई के लाग्छ भने राजनीति सुरु गर्दैगर्दा वा राजनीतिक दल सुरुवात गर्दैगर्दा पुरानोले यस्तो चुनौती, झमेला, अभियोग ल्याउनेछन् र लाद्नेछन् भन्ने कुरामा हामी मानसिक रूपमा तयार थियौँ । तसर्थ, यसलाई सामान्य रूपमा लिएर यसको सामना गरेर अगाडि बढिरहेका छौँ ।
पार्टी सभापतिमाथि अनुसन्धान सुरु भएपछि जिम्मेवारीको विषयलाई लिएर रास्वपाभित्र विवाद भइरहेको जस्तो देखिन्छ । त्यसैको असर तपाईंले कार्यवाहक प्रवक्ताको जिम्मेवारीबाट बिदा बसेर दबाब सिर्जना गर्न खोज्नु भएको त होइन ?
राजनीतिज्ञले पढ्ने नयाँ कुरा सिक्नको लागि बिदा बस्ने चलन छैन । यो देशमा निजामती कर्मचारी, पत्रकार, डाक्टर, इन्जिनियर सबैले पढ्नुपर्ने, नयाँ कुरा सिक्नुपर्ने तर, राजनीतिज्ञले चाहिँ एकचोटी पढेको जानेको सिकेको कुराले राजनीतिमा हाम फालेपछि त्यसैले नै सबै बाँकी समय सम्हाल्नुपर्ने भन्ने हुँदैन ।
म राजनीतिज्ञले पनि शैक्षिक अध्ययन, नयाँ कुरा सिक्ने बिदा लिनुपर्छ भन्ने कुरा सोच्छु । त्यो अभ्यास गर्न चाहन्छु । यसको पछाडि अरु कुनै कारण होला भनेर कसैले आशङ्का गर्छ भने गरिरहुन्, पत्याउँदैनन् भने नपत्याउन् । र अर्को कुरा, एउटा राजनीतिज्ञले बिदा लिने उपयुक्त समय कुन हुन्छ त त्यसो भए ?
सभापति रवि लामिछाने सक्रिय नभएको अवस्थामा पार्टीभित्र एकले अर्कोलाई सहजै स्वीकार गर्न नसक्ने रहेछन् भन्ने पछिल्लो समय तपाईंहरूबीच देखिएको विवादले पुष्टि गर्यो है ?
सभापतिज्यूको अनुसन्धान र कानुनी प्रक्रिया एउटा नियमित रूपमा अगाडि बढिराखेको छ । पार्टीले सभापतिज्यू प्रति सदाशयता सहयोग समर्थन साथ सबै चिज राखेको छ । साथसाथै, कानुनलाई पनि सघाएको छ । एकजना पार्टी पदाधिकारीको रुपमा मैले पनि आफ्नो भूमिका निभाइरहेको छु ।
रास्वपाभित्र जिम्मेवारीको विषयलाई लिएर समान सहमति हुन सकेन भन्ने कुरा सभापतिको पक्राउपछि सार्वजनिक रूपमै देखियो । त्यसैमा सभापति पक्राउको विषयलाई लिएर सडकमा जाने कि नजाने भन्नेमा पनि फरक धारणा देखिए । रास्वपाका नेताहरू यतिबेला पार्टीको भविष्यभन्दा बढी आत्मकेन्द्रित हुँदै गएका छन् भन्न मिल्छ ?
कुनै पनि दलमा कुनै पनि विषयमा पर्याप्त छलफल हुन्छ । पक्ष विपक्ष भएर तर्कवितर्क हुन्छ भने त्यो त आन्तरिक लोकतन्त्रको एउटा संवाद सहितको अभ्यास हो । कुनै एउटा निर्णय कतैबाट जारी हुन्छ । कसैको कोटको खल्तीबाट निस्केको निर्णय सबैले मान्नुपर्छ भन्ने त हुँदैन ।
कुनै एजेन्डामा पक्षविपक्ष, तर्कवितर्क, समर्थनविरोध राजनीतिक दलको एउटा राम्रो लोकतान्त्रिक अभ्यास हो । त्यसलाई गुटबन्दीको संज्ञा दिनु भनेको राजनीतिक अज्ञानता हो ।
उपनिर्वाचनको परिणाम, सभापति लामिछाने पक्राउ परेपछि थालेको सडक सङ्घर्ष, विभिन्न तहका अधिवेशन आदि नियाल्दा राजनीति र रास्वपाप्रतिको आकर्षण तपाईंहरूले सोचेजस्तो सधैँ रहँदैन भन्ने निष्कर्षमा पुग्नु भएको हो ?
कार्तिक २ गते रवि लामिछानेज्यू पक्राउ परेपछि सडकमा जुन किसिमको उपस्थिति भयो, जुन किसिमको विरोध भयो त्यो एउटा राजनीतिक चरित्र हो । हामी राष्ट्रिय स्वतन्त्र पार्टी संस्थापक सभापति रवि लामिछानेको नेतृत्वमा १२ लाख मत पाएर यो देशको चौथो राजनीतिक शक्ति भएका हौँ ।
उहाँप्रति भएको राजनीतिक प्रतिशोध जुन कुरा अब यथेष्ट प्रमाणहरूको कारण र उपस्थितिले गर्दा हामीले प्रमाणित गरिरहनुपर्ने आवश्यक नै छैन । त्यो प्रतिशोधको कारण हामी सडकमा उपस्थित भएर विरोध गर्नुपर्ने कुरा एउटा राजनीतिक दलको लागि स्वाभाविक प्रक्रिया हो ।
अस्ति नै भएको दुई दिने केन्द्रीय समिति बैठकको पहिलो बुँदामा नै हामीले सभापति र उहाँसँग सम्बन्धित कानुनी प्रक्रियाबारे कुरा गरेको छौँ । जुन विज्ञप्तिमा पनि उल्लेख छ ।
सभापति पक्राउ पर्नेबित्तिकै सडकमा उत्रिन हतार गरेको रास्वपाले पछिल्लो केन्द्रीय समिति बैठकमा यसबारे कुनै छलफल नै गरेन । राज्य संरचना र न्यायालयमाथि पहिले नभएको विश्वास अहिले आएर एकाएक कसरी उत्पन्न भयो ?
अरु केही कुराहरू पनि भएको छ तर, उहाँ अहिले एउटा कानुनी प्रक्रियामा रहनुभएकोले गर्दा राष्ट्रिय राजनीतिक दल, जुन यो देशमा आस गरिएको एउटा नयाँ अभ्यास गर्न आएको दल हो । त्यसले के लेख्ने, के नलेख्ने, विज्ञप्तिमा के उल्लेख गर्ने, के उल्लेख नगर्ने भन्ने कुरा त छुट्याउन सक्नुपर्छ ।
तोकिएकै समयमा पार्टीको अधिवेशन सम्पन्न गर्नुहुन्छ ? तल्लो तहका अधिवेशन नै सम्पन्न गर्न नसकेको अवस्थामा कसरी विश्वस्त पार्नुहुन्छ ?
जिल्ला भेलाहरू लगभग पाँचवटा बाहेक ७० भन्दा धेरै भइसक्यो । वडा अधिवेशन हरेक दिन दर्जनौं ठाउँमा भइराखेको छ । हाम्रो सङ्गठन विस्तारको ६० दिने अभियान सुरु भएको छ । केन्द्रीय समितिका सदस्य साथीहरूले आआफ्नो जिम्मेवारी अनुसार जिल्लामा सक्रियता देखाइरहनु भएको छ । हाम्रा सबै राजनीतिक र साङ्गठनिक प्रक्रियाहरू केन्द्रीय महाधिवेशन केन्द्रित छ र उन्मुख छ । सन्तोषजनक रूपमा अगाडि बढिराखेको छ ।
विधान परिवर्तन गर्ने विषय पनि चर्चामा छ । केके विषयमा फेरबदल हुन्छ ?
हामी सङ्गठनको परिकल्पनाको बारेमा, शुभेच्छुक समूहहरूको बारेमा र अन्य केही संरचनागत परिवर्तन बारे संशोधन गर्न चाहन्छौँ । त्यसको निश्चित खाका आउन अझै बाँकी छ ।
Facebook Comment
Comment