कर्णाली । करिब १० महिनादेखि नेतृत्वविहीन अवस्था रहेका कर्णाली प्रदेशसभाका तीन संसदीय समितिले पूर्णता पाएका छन् । गत वैशाखदेखि नेतृत्वविहीन रहेका सार्वजनिक लेखा, सामाजिक विकास, अर्थ तथा प्राकृतिक स्रोत समितिले बिहीबारबाट नेतृत्व पाएका छन् ।
लेखा समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट, अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेकपा एमालेकी दक्षिणा शाही र सामाजिक विकास समितिको सभापतिमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित भएका हुन् ।
कार्यवाहक सभामुख यशोदाकुमारी न्यौपानेले नवनिर्वाचित समितिका सभापतिहरूलाई बिहीबार नै पद तथा गोपनीयताको शपथग्रहण गराइन् । प्रदेश मामिला समितिको सभापतिमा भने नेकपा एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य कल्याणी खड्का निरन्तर छिन् ।
यसअघि लेखा समितिको सभापतिमा एमालेका जितबहादुर मल्ल, अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापतिमा दुर्गबहादुर रावत र सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी रहेका थिए । लामो समयसम्म समिति नेतृत्वविहीन हुँदा सरकारका कामकारबाही निगरानी गर्नेदेखि समितिमा गएका विधेयकउपर छलफल हुनसकेको थिएन । अब भने उक्त समस्या टरेको छ । –रासस
Facebook Comment
Comment