काठमाडौं । भारतका चर्चित कमेडियन तथा अभिनेता कपिल शर्मालाई ज्यान मार्ने धम्की आएको छ ।
यो धम्की पाकिस्तानबाट इमेलमार्फत आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
इमेलमा धम्की दिने व्यक्तिले आफ्नो नाम ‘विष्णु’ उल्लेख गरेका छन् । इमेलमा कपिललाई ८ घण्टाभित्र जवाफ दिन नत्र गम्भीर परिणाम भोग्न तयार रहन चेतावनी दिइएको छ ।
एनडीटीभीको रिपोर्टअनुसार मुम्बईको अम्बोली पुलिस स्टेशनले यस मामिलामा एक व्यक्तिविरुद्ध एफआईआर दर्ता गरेको छ ।
प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ र यस धम्कीको पछाडि कसको हात रहेको छ भन्ने खोजी गरिरहेको छ ।
इमेलमा भनिएको छ, ‘हामीले तपाईंको हालैका गतिविधिहरू निगरानी गरिरहेका छौँ र विश्वास गर्छौँ कि यो संवेदनशील मामिलामा तपाईंको ध्यान आकर्षित गर्न महत्त्वपूर्ण छ । यो कुनै पब्लिसिटी स्टन्ट वा तपाईंलाई हैरानी गर्ने प्रयास होइन, हामी तपाईंलाई यो सन्देशलाई अत्यन्त गम्भीरता र गोपनीयताका साथ लिन आग्रह गर्दछौँ ।’
रिपोर्टकाअनुसार कपिल मात्र यस्तो धम्की पाउने अभिनेता होइनन् । रेमो डिसुजा, राजपाल यादव र सुगन्धा मिश्रालगायत धेरै बलिउड सेलिब्रेटीहरूलाई पनि यस्तै धम्कीपूर्ण इमेलहरू प्राप्त भएका छन् ।
Facebook Comment
Comment