काठमाडौं । रुपन्देहीको सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज (बिहीबार)देखि थुनछेक बहस सुरु हुँदैछ ।
लामिछाने बुधबार कार्यालय खुलेलगत्तै अदालतमा उपस्थित भएका थिए । बुधबार नै उनीतर्फको बहस सकिएको थियो । अब योगीकै इजलासमा आजदेखि थुनछेक बहस हुन लागेको हो ।
रुपन्देही जिल्ला अदालतमा हुने बहसपछि पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्नेमध्ये एउटा आदेश हुनेछ ।
रकम अपचलनमा प्रतिवादी बनाइएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई बुधबार पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाइएको थियो ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश पल्हादकुमार योगीको एकल इजलासले आज उपस्थित गराउने शर्तमा लामिछानेलाई जिम्मा लगाउन आदेश दिएको सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।
लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।
Facebook Comment
Comment