भद्रपुर । चालु आर्थिक वर्षको ६ महिनायता झापा प्रहरीले लागुऔषध प्रयोगकर्ता तथा कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।
पक्राउ गरिएका अभियुक्तबाट गाँजा तीन दशमलव ६७ किलोग्राम, खैरो हिरोइन सात सय २० दशमलव ८० ग्राम, ट्रमाडोल सात हजार दुई सय ३७ ट्याबलेट, एन्टिकफलगायत ट्याबलेट बरामद गरिएको उनले जानकारी दिए ।
प्रहरीले लागुऔषधसहित मानिस नियन्त्रणमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार छ महिनामा जिल्ला अदालत झापामा एक सय ५१ वटा लागुऔषधका मुद्दा दर्ता भइसकेको छ ।
लागुऔषधको कारोबार हुने जिल्लाका विभिन्न स्थान र सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रवक्ता चन्दले बताए । ‘सीमानाका, गाउँबस्तीबाट सहरबजारसम्म लागुऔषधको कारोबार देखियो,’ उनले भने, ‘लागुऔषध नियन्त्रणका लागि हामीले चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ ।’
यसैगरी प्रहरीले ६ महिनामा एक सय ४८ जना फरार प्रतिवादी पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ । प्रवक्ता चन्दका अनुसार जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याएको एक करोड ६१ लाख १० हजार सात सय २२ रुपैयाँ मूल्य बराबरका सामान बरामद गरी मेची भन्सार कार्यालयमा बुझाइएको छ । –रासस
Facebook Comment
Comment