कर्णाली । प्रतिपक्षी दल केकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकार समक्ष प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिन माग गरेको छ ।
प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौ अधिवेशनको मङ्गलबार बसेको दोस्रो बैठकको विशेष समयमा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जीसीले सरकारले सार्वजनिक सरोकारका विषय, प्रदेश सरकारको दायित्वअन्तर्गतका योजनाका विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।
नेपाली कांग्रेस प्रमुख सचेतक हिक्मतबहादुर विष्टले दलका नेता जीवनबहादुर शाहीले सोमबार राखेको विषयमा सरकारले जिम्मेवारीका साथ पूरा गर्नुपर्ने धारणा राखे ।
सभाको चौथो अधिवेशनमा नियमावली संशोधन, स्थानीय सेवा सञ्चालन ऐन पारित रु ३० लाखभन्दा माथिको योजना ठेक्का प्रक्रियामा जानु, समितिको नेतृत्व चयन प्रक्रिया अगाडि बढ्नु जस्ता राम्रा कामको सुरुआत भएको सचेतक विस्टको भनाइ थियो ।
बैठकको विशेष समयमा प्रदेशसभा सदस्यहरू जीतबहादुर मल्ल, महेन्द्र केसी, जानकी सिंह, रनसिंह परियार, देवेन्द्रबहादुर शाही, वीरबहादुर शाही, बेदराज सिंहले धारणा राखेका थिए ।
उपसभामुख यशोदा न्यौपानेले विशेष समयमा बोल्ने प्रदेशसभा सदस्यहरुले उठाएका विषयहरुको कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १६ को उपनियम २ बमोजिम सात दिनभित्र जवाफ दिन सम्बन्धित मन्त्रीहरूलाई रुलिङ गरेकी थिइन् । –रासस
Facebook Comment
Comment