मधेस प्रदेशमा पूर्ण विद्युतीकरण घोषणाको तयारी

नेपालभ्युज

मधेस प्रदेशमा पूर्ण विद्युतीकरण घोषणाको तयारी

सिरहा । नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रमुुख शम्भु कुसियतले प्रदेशका सबै टोलबस्तीमा विद्युत् सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरिएको बताएका छन् । मङ्गलबार सप्तरीको सुरूङ्गा नगरपालिकास्थित लक्ष्मीपुरमा ‘लक्ष्मीपुर–सुरुङ्गा फ्यृज सेवा तथा महसुल सङ्कलन काउण्टर’को उद्घाटन गर्दै प्रादेशिक प्रमुख कुसियतले यस्तो बताए ।

‘अहिले हामीले ९९ प्रतिशतभन्दा बढी क्षेत्रमा विद्युतीकरण गरिसकेका छौँ,’ प्रादेशिक प्रमुख कुसियतले भने, ‘अब चाँडै नै प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गर्दै छौँ ।’ उनका अनुसार प्रदेशको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरी जिल्लामा पूर्ण विद्युतीकरण भइसकेको छ । यस्तै सिरहा जिल्लाको धनगढीमाई, मिर्चैया नगरपालिकालगायत केही क्षेत्रमा विस्तारको काम भइरहेकाले पूर्ण विद्युतीकरण घोषणा गर्न केही ढिला हुन गएको जानकारी दिए ।

विद्युत् प्राधिकरण बोदेबरसाइन वितरण केन्द्रका प्रमुख सन्योक विश्वकर्माले लक्ष्मीपुर–सुरुङ्गा फ्युज सेवा तथा महसुल सङ्कलन काउण्टर मङ्गलबारदेखि सञ्चालनमा आएसँगै स्थानीय सेवाग्राहीलाई घर नजिकबाट सेवा प्राप्त गर्न सहज भएको बताए ।

सुरुङ्गा नगरपालिका–३ को वडा कार्यालयसँगै जोडिएको नवउद्घाटित फ्युज सेवा तथा विद्युत् महसुल सङ्कलन काउण्टर भवन नगरपालिकाले उपलब्ध गराएको हो । यस विद्युत् केन्द्रबाट १० हजार सेवाग्राही लाभान्वित हुने वडाध्यक्ष किरणकुमार पोखरेलले बताए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved