प्रधानमन्त्री भन्छन् – भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम गर्दैनौँ

नेपालभ्युज

प्रधानमन्त्री भन्छन् – भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम गर्दैनौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित नभएको बताएका छन् ।

नेकपा एमालेको परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

साथै, सानो देश हौँ भन्ने हिनताभाव पाल्नु पर्ने आवश्यकता नरहेको उनको भनाइ छ ।

उनले भने, “हाम्रा कोही शत्रु छैनन्, सबै हाम्र मित्र हुन् भन्ने भावका साथ हामीले वैदेशिक सम्बन्ध कायम गर्छौ । भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम हामी गर्दैनौँ । राष्ट्रिय हितको रक्षा गर्न भूराजनीतिक परिस्थितिलाई हामी सन्तुलितरुपमा सामना गर्न सक्छौँ । छिमेकी देशसँग उत्ताउलो नभईकन खुलस्त र मित्रतापूर्णरुपमा आफ्ना जायज कुरा राख्नुपर्छ । जिब्रो लट्पट्याएर नबुझिने गरी कूटनीतिक संवाद गर्नुपर्छ भन्ने छैन ।”

प्रधानमन्त्री ओलीले राष्ट्रिय हितभन्दा सत्ता स्वार्थ र स–साना कुराहरुलाई महत्व दिने प्रवृत्ति गलत भएको उल्लेख गर्दै नेपालले आर्थिक, सांस्कृतिक र कूटनीतिक हितलाई ध्यान दिएर विश्वसनीय र जिम्मेवाररुपमा आफूलाई प्रस्तुत गर्ने बताए ।

उनले संसद्‌मा हरेक विषयमा विस्तृत अध्ययन र तयारीका साथ प्रस्तुत हुन र संसदलाई जिउँदो जाग्दो बनाउन सांसदहरुलाई सुझाव दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved