प्रशिक्षार्थी डाक्टरको बलात्कार-हत्या प्रकरण : सञ्जयलाई आजीवन काराबास

नेपालभ्युज

प्रशिक्षार्थी डाक्टरको बलात्कार-हत्या प्रकरण : सञ्जयलाई आजीवन काराबास

काठमाडौं । कोलकाताको आरजी कार मेडिकल कलेजमा एक प्रशिक्षार्थी डाक्टरको बलात्कार-हत्यामा दोषी ठहरिएका सञ्जय रोयलाई आजीवन काराबासको  सजाय सुनाइएको छ ।

सियालदह अदालतले सोमबार रोयलाई यस्तो सजाय सुनाएको हो । ५ माघमा न्यायाधीश अनिर्बान दासको एकल इजलासले रोयलाई बलात्कार-हत्यामा दोषी ठहर गरेको थियो ।

अदालतले घटनाको १६२ दिनपछि फैसला सुनाएको थियो । बलात्कार-हत्याको घटना ९ अगस्ट २०२४ मा भएको थियो र १८ जनवरी २०२५ मा फैसला आएको हो ।

उनलाई भारतीय न्यायिक संहिताको धारा ६४ र १०३ (१) अन्तर्गत दोषी ठहर गरिएको थियो ।

सजाय सुनाउनुअघि रोयलाई बोल्ने मौका दिइएको थियो । उनले कुनै अपराध नगरेको बताएका थिए । उनले भनेका थिए, ‘मैले कुनै अपराध गरेको छैन, न बलात्कार, न हत्या । मलाई फसाइयो । यातना दिइयो । जबरजस्ती हस्ताक्षर गराइयो ।’

सीबीआईले रोयलाई मृत्युदण्ड दिन माग गरेको थियो । भारतीय सञ्चारमाध्यमकाअनुसार पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले पनि मृत्युदण्डको माग गरेकी थिइन् ।

रोयकी आमा र बहिनीले फाँसी दिए पनि सजायको विरुद्धमा पुनरावेदन नगर्ने बताएका छन् । आमाले भनिन्, ‘मैले त्यो केटीका बाबुआमाको पीडा बुझ्छु, मेरा पनि छोरी छन् ।’

गत अगस्ट ९ राति आरजी कार अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको थियो । साउन ९ गते बिहान सेमिनार हलमा डाक्टरको शव भेटिएको थियो । सीसीटीभी फुटेजको आधारमा प्रहरीले सञ्जय रोय नामका सिभिक स्वयंसेवकलाई अगस्ट १० मा पक्राउ गरेको थिए ।

सीबीआईले १० डिसेम्बर २०२४ मा सर्वोच्च अदालतमा स्टेटस रिपोर्ट दिएको थियो । जसमा सियालदह ट्रायल कोर्टमा नियमित सुनुवाइ भएको र ८१ मध्ये ४३ जना साक्षीलाई सोधपुछ गरिएको बताइएको छ ।

यस घटनापछि कोलकातामा प्रदर्शन सुरु भयो र राज्यमा स्वास्थ्य सेवा दुई महिनाभन्दा बढी समयसम्म ठप्प भएको थियो ।

कोलकाता बलात्कार-हत्या प्रकरण : अन्तिम कलमा ‘मेरो चिन्ता गर्नुपर्दैन’ भनेकी छोरी सधैँका लागि अस्ताइन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved