जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालय केन्द्रीय क्याम्पस जनकपुरधामका विद्यार्थीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वउपसभापति विमलेन्द्र निधिको पुत्ला दहन गरेका छन् ।
कांग्रेसका भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आयोजना गर्न लागेको जय नेपाल कप क्रिकेट प्रतियोगितामा राजर्षि जनक विश्वविद्यालय टिमको नाम समावेश गरेपनि अन्तिम समयमा हटाएको भन्दै उनीहरूले आइतबार जनकपुरधामको रामानन्द चोकमा विद्यार्थीले उनीहरूको पुत्ला दहन गरेका हुन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य श्याम साहको नेतृत्वमा विद्यार्थीहरूले नेविसंघविरुद्ध नाराबाजी गर्दै पूर्वप्रधानमन्त्री देउवा र पूर्वउपप्रधानमन्त्री निधिको पुत्ला दहन गरे ।
सुरुमा आयोजकले राजर्षि जनक विश्वविद्यालयलाई समेत सहभागी गराउने जनाएपनि पछिल्लो समयमा नाम हटाएपछि विद्यार्थीहरू आन्दोलित भएको विद्यार्थी नेता साहले बताए ।
उनले खेल तालिकामा शनिवार बिहानसम्म राजर्षि जनक विश्वविद्यालयको नाम समावेश रहेपनि अन्तिम समयमा नाम हटाएको आरोप लगाए ।
‘नेविसंघकै आग्रहमा राजर्षि जनक विश्वविद्यालयले प्रशिक्षक नियुक्त गरेको थियो । साथै खेल सामग्रीसमेत खरिद गरेर टोली पठाउने अन्तिम तयारीमा रहेको अवस्थामा खेल तालिकाबाट नाम हटाएपछि नेविसंघविरुद्ध आन्दोलन गर्नु परेको हो,’ उनले भने ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबारदेखि सुरु हुने प्रतियोगितामा तीन देशका आठ विश्वविद्यालयका टोली सहभागी रहेका छन् ।
Facebook Comment
Comment