नेतान्याहुको चेतावनी – युद्धविराम सफल नभए हामी युद्ध पुनः सुरु गर्न तयार छौँ

नेपालभ्युज

नेतान्याहुको चेतावनी – युद्धविराम सफल नभए हामी युद्ध पुनः सुरु गर्न तयार छौँ

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोस्रो चरणको युद्धविराम सफल नभए हमासविरुद्धको युद्ध पुनः सुरु गर्न आफ्नो देश तयार रहेको चेतावनी दिएका छन् ।

गाजा युद्धविराम र बन्धक रिहाई सम्झौताको कार्यान्वयनअघि शनिबार राति एक टेलिभिजन भाषणमा नेतान्याहुले युद्धविराम अस्थायी भएको र इजरायलले गाजामा फेरि आक्रमण गर्ने अधिकार राखेको बताए ।

नेतान्याहुले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प यसमा आफूसँगै रहेको पनि बताएका छन् ।

हमास नेता याह्या सिनवारको हत्याको सन्दर्भमा उनले विगत १५ महिनामा इजरायली सेनाको सफलताको चर्चा गरे ।
‘हामीले मध्यपूर्वको अवस्था परिवर्तन गरेका छौं । हमास अब पूर्णतया एक्लो छ,’ उनले दाबी गरे ।

नेतान्याहुले यसअघि हमासद्वारा रिहा गर्ने बन्धकहरूको सूची प्राप्त नगरेसम्म इजरायलले सम्झौता कार्यान्वयन नगर्ने बताएका थिए ।
‘इजरायलले सम्झौताको उल्लंघन सहने छैन,’ उनले थपे ।

हमासले रिहा गर्ने ३३ बन्धकहरूको सूची इजरायली मिडियाले यसअघि नै जारी गरिसकेको छ । तर अधिकारीहरूले भने यसको पुष्टि गरेका छैनन् ।

इजरायली अधिकारीहरूले आइतवार रिहा हुने तीनजना बन्धकको नाम अझै प्राप्त नभएको बताएका छन् ।
यता हमासले बुधबार युद्धविराम सम्झौता घोषणा गरेपछि इजरायली हवाई आक्रमणमा १२० जनाको ज्यान गएको बताएको छ ।

सहमतिअनुसार आगामी केही हप्तामा इजरायलले ३३ इजरायली बन्धकहरूको सट्टामा १ हजार ८९० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ ।

युद्धविराम तीन चरणमा लागू हुनेछ बीबीसको समाचारमा उल्लेख छ । पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासद्वारा बन्धक बनाएका इजरायलीहरूलाई रिहा गरिनेछ ।

त्यसपछि इजरायली सेना विस्तारै गाजाबाट हट्नेछ र अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम हुनेछ ।

इजरायल र हमासबीचको युद्धविराम सम्झौता स्थानीय समयअनुसार आज (आइतबार) बिहान ८ बजेदेखि लागू हुनेछ ।

गाजा युद्धविराम सम्झौता इजरायली मन्त्रिपरिषद्‌बाट अनुमोदन

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved