काठमाडौं। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरणका लागि समय सीमा नै तोकेर परिपत्र गरेको छ ।
पार्टीकामहामन्त्री गगनकुमार थापाको संयोजकत्वमा रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले वडा, प्रदेश सभा क्षेत्र, क्षेत्रीय समितिलाई क्रियाशील सदस्यता नवीकरणका लागि समय तोकेर निर्देशन जारी गरेको हो ।
परिपत्रमा एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्लाको हकमा सभापतिले माघ १२ गते ५ बजेसम्म क्षेत्रीय सभापतिलाई क्रियाशील सदस्यको फारम र नामावली बुझाइ सक्नुपर्ने समिति सदस्य प्रकाश रसाइलीले जानकारी दिए । उनका अनुसार एक मात्र प्रतिनिधिसभा भएको जिल्लाका सभापतिले माघ १३ गते ५ बजेभित्र फारम र नामावली बुझाउनु पर्नेछ।
परिपत्रमा प्रदेशसभा क्षेत्रीय समितिले माघ १४ गते ५ बजे पालिका समितिलाई र गाउँ नगरले माघ १५ गते वडा तहमा क्रियाशील सदस्यताको नामावली अनिवार्य बुझाउनुपर्ने उल्लेख छ ।
यसैगरी वडामा क्रियाशील सदस्यताका लागि वडाले फागुन १ गते पालिका तहमा २ सय शुल्कसहित नामावली बुझाउनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ ।
यस्तै पालिकाले प्रदेश सभा क्षेत्रीय समितिमा फागुन १० गतेभित्र बुझाउनु पर्नेछ भने फागुन २० भित्र क्षेत्रीय समितिले प्रदेश सभा क्षेत्रमा तथा प्रदेश सभाले फागुन मसान्त भित्र क्षेत्रीय कार्यसमितिमा पठाइसक्नु पर्नेछ ।
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समितिले चैत १५ र जिल्लाले चैत २९ गते दिउँसो ३ बजेभित्र केन्द्रीय कार्यालयमा शुल्कसहित पठाइसक्न समितिले परिपत्रमार्फत निर्देशन दिएको छ ।
Facebook Comment
Comment