काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरूद्ध प्रहरीमा जाहेरी दिएका छन् ।
आफूमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्र भएको भन्दै बिहीबार प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका हुन् ।
बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएपछि बाहिर निस्किँदै गरेका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमै हातपात भएको थियो ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ललितकुमार केसीलाई पक्राउ गरिसकेको छ । सीसीटीभी फुटेज हेरेर घटनामा संलग्न रहेकाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल बार, सर्वोच्च अदालत बार, काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले घटनामा दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको मुद्दामा त्रिपाठीले जाहेरी पक्षका तर्फबाट बहस गरेका थिए ।
रास्वपाले आफ्नो दलको कुनै सदस्यको संलग्नता भेटिए आवश्यक कारबाही गर्ने बताएको छ ।
Facebook Comment
Comment