काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको निर्देशनमा बनेको फिल्म ‘इमर्जेन्सी’माथि बङ्गलादेशमा प्रतिबन्ध लागेको छ ।
भारत र बङ्गलादेशबीचको तनावपूर्ण सम्बन्धका कारण फिल्ममाथि प्रतिबन्ध लागेको हो ।
इमर्जेन्सी सन् १९७५ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको आपत्कालमा आधारित छ ।
बङ्गलादेशमा इमर्जेन्सीको प्रदर्शन रोक्ने निर्णय भारत र बङ्गलादेशबीचको वर्तमान तनावपूर्ण सम्बन्धसँग जोडिएको आईएएनएसले जनाएको छ ।
यो प्रतिबन्ध फिल्मको विषयवस्तुको कारणले कम र दुई देशबीच जारी राजनीतिक तनावका कारणले बढी आएको हो ।
इमर्जेन्सीले सन् १९७१ को बङ्गलादेश स्वतन्त्रता युद्धमा भारतीय सेना र इन्दिरा गान्धीको सरकारको भूमिका र बङ्गलादेशका पिता भनेर चिनिने शेख मुजीबुर रहमानलाई दिइएको समर्थनलाई चित्रण गर्दछ ।
फिल्ममा बङ्गलादेशी अतिवादीहरूको हातबाट मुजिबुरहमानको हत्यालाई पनि देखाएको छ ।
यसका कारण बङ्गलादेशमा फिल्म प्रतिबन्धित गरिएको हो । भारतमा जनवरी १७ मा यो फिल्म रिलिज हुँदैछ ।
बङ्गलादेशमा प्रतिबन्धको सामना गर्ने इमर्जेन्सी एक मात्र भारतीय फिल्म होइन । यसअघि पुष्पा-२ र भूल भुलैया-३ जस्ता फिल्महरूलाई पनि रिलिज गर्न रोक लगाइएको थियो ।
Facebook Comment
Comment