इजरायल–हमास युद्धविराम सम्झौताको पहिलो चरणमा गाजाबाट ३३ बन्धक मुक्त हुने

नेपालभ्युज

इजरायल–हमास युद्धविराम सम्झौताको पहिलो चरणमा गाजाबाट ३३ बन्धक मुक्त हुने

जेरुसेलम । कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोतहरू र इजरायली मिडियाले मङ्गलबार बताएका छन् ।

मध्यस्थकर्ताहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले हालैका दिनहरूमा सम्झौता गर्ने प्रयासहरू तीव्र पारेका छन् र वार्ताबारे जानकार एक स्रोतले मङ्गलबार एएफपीलाई दोहामा ‘अन्तिम चरणको वार्ता’ सुरु हुने बताएको थियो ।

वार्तासँग सम्बन्धित दुई स्रोतले नाम नखुलाउने सर्तमा एएफपीलाई प्रारम्भिक आदान–प्रदानमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा ३३ बन्धक रिहा गरिने बताए ।

यी बन्धकहरू सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि गाजा पट्टीमा बन्दी बनाइएका ९४ जनामध्येका हुन् । यो सङ्ख्यामा इजरायली सेनाले मृत भनेका ३४ जना बन्दी समावेश छन् ।

टाइम्स अफ इजरायल समाचार वेबसाइटले वार्तासँग परिचित इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै ‘सम्झौताको पहिलो चरणमा ३३ वटा मानवीय मामिला समावेश छन्’ भनी रिपोर्ट गरेको छ ।

वार्तासँग सम्बन्धित दुई स्रोतमध्ये एकका अनुसार सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धकलाई समूहमा रिहा गर्ने व्यवस्था छ, जसमा पहिले बालबालिका र महिलाहरूलाई रिहा गरिनेछ ।

टाइम्स अफ इजरायलको रिपोर्टअनुसार इजरायली अधिकारीहरूले प्रस्तावित प्रारम्भिक आदान–प्रदानमा समावेश ३३ जना बन्धक जीवित रहेको विश्वास गरेका छन् । यद्यपि इजरायल उनीहरूको स्थितिको पुष्टिको प्रतीक्षामा रहेको रिपोर्टमा उल्लेख छ ।

‘यदि पहिलो चरण सम्पन्न भयो भने सम्झौता लागु भएको १६ औँ दिनमा इजरायलले बाँकी बन्दीहरूलाई मुक्त गर्न दोस्रो चरणमा वार्ता सुरु गर्नेछ,’ रिपोर्टमा भनिएको छ, ‘यसमा पुरुष सैनिकहरू, सैन्य उमेरका पुरुषहरू र मारिएका बन्धकहरूको शवहरू समावेश छन् ।’

गत हप्ता हमासले बहु–चरण सम्झौताको पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमत भएको सङ्केत गरेको थियो ।

इजरायली मिडियाले मङ्गलबार प्रस्तावित सम्झौताअन्तर्गत पहिलो चरणको कार्यान्वयनका क्रममा इजरायललाई गाजाभित्र बफर जोन कायम राख्न अनुमति दिइने पनि बताएको छ ।

‘इजरायली सेनाले सबै बन्धक फिर्ता नगरेसम्म गाजाबाट फिर्ता हुने अपेक्षा गरिएको छैन, तर यसले दक्षिणी गाजाबाट बासिन्दाहरूलाई पट्टीको उत्तरतिर जान अनुमति दिनेछ,’ वामपन्थी झुकाव भएको अखबार हारेट्जले भनेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार युद्धविराम र बन्धक मुक्तिको सम्झौता लगभग अन्तिम भएको बताए । उनले यो मे महिनाको अन्त्यमा सार्वजनिक गरेको तीन चरणको युद्धविराम योजनामा आधारित रहेको जानकारी दिए ।

‘इजरायल र हमासबीचको युद्धमा हामी एउटा प्रस्ताव अन्ततः साकार हुने अवस्थामा पुगेका छौँ,’ बाइडनले विदेश मन्त्रालयमा बिदाइ भाषणमा भने ।

वार्ताका मुख्य अड्चनका विषयहरू कुनै पनि युद्धविरामको स्थायित्व र प्यालेस्टिनी क्षेत्रका लागि मानवीय सहायताको मापनमा असहमति रहेको छ।

अन्य विवादका विषयहरूमा विस्थापित गाजावासीहरूको घर फिर्ती, प्यालेस्टिनी क्षेत्रबाट इजरायली सेनाको फिर्ती र सीमा नाकाहरू पुनः खुला गर्ने विषय समावेश छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीलाई दृढतापूर्वक अस्वीकार गरेका छन् । र, त्यस क्षेत्रमा प्यालेस्टिनी शासनको विरोध गरेका छन् ।।

वार्तासँग परिचित एक स्रोतका अनुसार कतारमा भइरहेका वार्ताहरू हमास र इजरायली वार्ताकारहरू दुई अलग–अलग कोठामा उपस्थित भएर सञ्चालन भइरहेका छन् ।

मिडिया रिपोर्टहरूका अनुसार कुनै पनि सम्झौताले इजरायली मन्त्रिमण्डलको स्वीकृति आवश्यक पर्ने सम्भावना छ ।

इजरायल र हमास गाजामा युद्धविराम सम्झौताको नजिक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved