काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी छन् ।
हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन उनले खुलाइफीसँग वार्ता गरेकी हुन् ।
खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्ति वार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।
राणाले कतार नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै हमाससँगको सम्पर्कमा रहेर शान्ति वार्ताका लागि युद्धविराम गराउन विशेष पहल गरिरहेकाले नेपाली युवा विपिनको रिहाइका लागि पनि विशेष पहल गरिदिन अपिल गरेकी छन् ।
कुराकानीका क्रममा खुलाइफीले हमासहरुलाई इजरायलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रुपमा अघि बढिरहेको जानकारी गराउँदै हमासको अपहरणमा रहेकाहरुको मुक्तिका लागि कतार सरकारले पहल गरिरहेको बताए ।
साथै, उनले नेपाली युवा विपिनको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरुले प्राथमिकतामा राखेको बताउँदै पहिलो चरणमा उनीहरुले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा विपिन अपहरण मुक्त हुनेमा आफू विश्वस्त रहेको बताए ।
Facebook Comment
Comment