बैतडी । प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट आज (मङ्गलबार)देखि सुरु हुँदैछ । प्रतियोगिता धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले सोमबार बैतडीमा आयोजित पत्रकार सम्मेलनमा मैदान सरसफाइसँगै कालोपत्रलगायत तयारी पूरा भएको बताउँदै खेलाडीहरू धनगढी पुग्ने क्रम जारी रहेको जानकारी दिए ।
आगामी माघ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपीएफ र आर्मीको टोली सहभागी हुने सङ्घका सचिव लक्ष्मण भट्टले बताए । उनका अनुसार सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सशस्त्र प्रहरी बलको एपिएफ क्लब रहेका छन् । समूह ‘बी’मा कोशी, बागमती र मधेश प्रदेशका साथै त्रिभुवन आर्मी क्लब रहेका छन् ।
आज उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेश भिड्ने छन् । राष्ट्रिय खेलकुद परिषद्को कार्ययोजना, नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले पाँच लाख रुपैयाँ पुरस्कार पाउने नेपाल क्रिकेट सङ्घका महिला विकास समितिका सदस्य तेजप्रकाश भट्टले जानकारी दिए । उनका अनुसार दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई २५–२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई तीन हजार रुपैयाँ पुरस्कार दिइने छ ।
प्रथम र द्वितीय पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले र बाँकी पुरस्कारहरूको रकम सुदूरपश्चिम खेलकुद परिषद्ले उपलब्ध गराउने जनाएका छन् । –रासस
Facebook Comment
Comment