ग्रिनल्यान्डबारे ट्रम्पको बयान नजिकबाट हेर्दै क्रेमलिन

नेपालभ्युज

ग्रिनल्यान्डबारे ट्रम्पको बयान नजिकबाट हेर्दै  क्रेमलिन

मस्को । क्रेमलिनले अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको ग्रिनल्यान्डमाथिको दावीलाई नजिकबाट नियालिरहेको सरकारका एक प्रवक्ताले बताएका छन् । साथै क्रेमलिनले हाल यो केवल बयानबाजीमै सीमित रहेकोमा राहत व्यक्त गरेको छ ।

ट्रम्पले मंगलबार एक पत्रकार सम्मेलनमा आर्कटिक टापुको नियन्त्रण लिन सैन्य कारबाही गर्ने सम्भावनालाई अस्वीकार गरेनन् । उनले यसअघि डेनमार्कले आफ्नो स्वायत्त क्षेत्र हस्तान्तरण गर्न अस्वीकार गरे उच्च भन्सार महसुल लगाउने चेतावनी दिएका थिए ।

“हामी परिस्थितिको यो नाटकीय विकासलाई धेरै नजिकबाट हेरिरहेका छौँ, यो भगवान्को कृपाले अहिलेसम्म बयानको स्तरमा मात्र छ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, “हामी यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न इच्छुक छौँ र यस शान्ति र स्थिरताका लागि कुनै पनि पक्षसँग सहकार्य गर्न तयार छौँ ।”

उहाँले सन् २०२२ मा जनमत सङ्ग्रहका आधारमा रुसले चार युक्रेनी क्षेत्र विलय गरेको तर्फ इङ्गित गर्दै ग्रिनल्यान्डका जनताको इच्छाबारे पनि सोधिनुपर्ने सुझाव दिए । “हामीले यी मानिसहरूको विचारप्रति पनि त्यस्तै सम्मान देखाउनुपर्छ”, उनले भने।

पश्चिमी देशहरू र किएभले युक्रेनका चारवटा क्षेत्रमा रुसले गरेको विलयलाई अवैध र जनमत संग्रहलाई नक्कली भनी निन्दा गरेका थिए ।

ग्रिनल्यान्ड युरोपेली सङ्घ (इयु) को सदस्य डेनमार्कको खनिज समृद्ध स्वायत्त क्षेत्र र २७ सदस्यीय ब्लकको सम्बद्ध क्षेत्र हो ।

ट्रम्पले मंगलबार छुट्टै पनामा नहरको नियन्त्रण हासिल गर्न सैन्य बल प्रयोग गर्ने र छिमेकी क्यानाडाविरुद्ध आर्थिक बल प्रयोग गर्ने सुझाव दिएका थिए । पनामा नहर संयुक्त राज्य अमेरिकाले दिवङ्गत राष्ट्रपति जिमी कार्टरको कार्यकालमा पनामालाई फिर्ता गरेको थियो । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved